१२ मंसिर २०८३, शनिबार

सचिवालय बैठकअघि प्रचण्ड र माधव नेपालबीच वार्ता !

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार आइतबार बिहान उनीहरुबीच करिब आधा घन्टा छलफल भएको हो । छलफलमा नेकपा सचिवालयको पछिल्लो बैठक, वरीयतालगायत विषयमा नेता नेपालको असन्तुष्टि र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ ।

शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनालले वरिष्ठ नेताको एक नम्बरमा आफूलाई राख्नुपर्ने माग गरेका थिए । त्यसमा दुवै अध्यक्षहरू सकरात्मक देखिएका समाचार सार्वजनिक भएका थिए ।

खनालले अघि सारेको प्रस्तावमा नेता नेपालले आपत्ति जनाएपछि अर्को बैठकमा छलफल गर्ने भन्दै एजेण्डा पछि सारिएको थियो ।

प्रचण्ड र नेपालबीच वरिष्ठताको विषयसँगै पोलिटब्यूरो गठनमा देखिएको समस्याबारे पनि छलफल भएको स्रोतले बताएको छ । नेकपाको विधानमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र महासचिव हुने प्रावधान छ ।

तर, शुक्रबारको बैठकले सचिवालय सदस्य वामदेव गाैतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको छ । जसलाई स्थायी समितमा लगिने निर्णय भएको छ । स्थायी समिति र केन्द्रीय सिमितिबाट प्रस्ताव पास भए गाैतम उपाध्यक्ष हुनेछन् ।

प्रचण्डसँगको छलफलमा नेता नेपालले तत्कालीन एमालेका तीन निर्वाचित उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज  ज्ञवालीलाई पनि सचिवालयमा समावेश गर्ने विषयमा पनि कुरा राखेका थिए । जुन विषय नेता नेपालले शुक्रबारको सचिवालय बैठकमा पनि उठाएका थिए ।

निर्वाचित उपाध्यक्षमध्ये एकजनाई सचिवालय सदस्य, स‌ंगठन विभाग, किसान महास‌ंघको नेतृत्व दिने र उपाध्यक्षमा प्रस्ताव गर्ने तर, बाँकी तीन जनलाई पुरै वेवास्ता गरिएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका छन् ।

नेकपाको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी काम सक्ने गरी छलफल हुने नेकपाले जनाएको छ ।

नेकपाले अब २२ जनवर्गीय संगठनहरुको इन्चार्ज र सहइन्चार्ज, विशेष कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग, निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्चलगायतको नेतृत्व टुंग्याउन बाँकी छ ।

आजको बैठकमा यी सबै विषय टुङ्ग्याउने नेकपाको तयारी छ ।