आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

विप्लव समूहको विशेष कारबाही दस्ताका सदस्य हतियारसहित पक्राउ

दैनिक नेपाल २०७६ भदौ १ गते ११:५०

काठमाडौँ, १ भदौ ।  ‘विप्लव’ नेतृत्वको  नेकपाका ‘सार्प सुटर’ मुनाल भन्ने सुलभ लामा पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा शनिबार प्रहरीले काठमाडौँको नागढुंगास्थित चेक प्वाईन्टबाट लामालाई पक्राउ गरेको हो । धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्दा बसमा रहेका लामालाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विप्लव नेकपाले बनाएको विशेष कारबाही दस्ता (स्पेसल टास्क फोर्स) का सदस्य सुलभका साथबाट दुई थान अटोमेटिक पेस्तोल र २० राउन्ड गोली बरामद भएको छ । उनी ललितपुर कोन्ज्योसम गाउँपालिका २ का बासिन्दा हुन् ।

कुनै व्यक्तिलाई कारबाहीका लागि परिचालित हुने सुलभका विषयमा प्रहरीको विशेष ब्युरो र काठमाडौं प्रहरीले अन्सन्धान गरिरहेको छ । उनका साथबाट विशेष कारबाहीमा आवश्यक सम्पूर्ण बन्दोबस्तीका सामग्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले उनले सुलभसँग सोधपुछ भइरहेको बताए । उनले बोकेको झोलामा पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो ।

लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान बरामद गरेको छ । सिलाई मेसिन सफा गर्न प्रयोग हुने यो तेल विप्लव नेकपाले हतियार सफा गर्न प्रयोग गर्दै आएको छ ।

प्रहरीले सुलभका साथबाट एकथान दुरबिन (बाइनाकुलर) समेत बरामद गरेको छ। यस्तै उनले प्रयोग गर्ने ५ थान मोबाइल, महत्वपूर्ण डायरी र दस्तावेज बरामद भएको एसएसी सुवेदीले बताए ।

प्रतिक्रिया
सम्बन्धित