आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

अटोमेटिक पेस्तोल तथा गोलीसहित पक्राउ

दैनिक नेपाल २०७६ साउन ३२ गते १९:०७


काठमाडौं, ३२ साउन । चन्द्रागिरी नगरपालिका २ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर कोन्ज्योसम गाउँपालिका २ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

साथै लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित