शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

कोमामा पुगेको नेवि संघमा संजिवनी छर्कन सक्ने नेता

‘६ महिना भित्र राष्ट्रिय अधिवेशन गराउन सक्छु’

दैनिक नेपाल २०७६ साउन २५ गते १३:०८

काठमाडौं, २५ साउन । विगठित नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले महाधिवेशनको म्यान्डेडसहित नेतृत्वको जिम्मेवारी पाए कोमामा रहेको संगठनलाई संजिवनी छर्कने दाबी गरेका छन् ।

नेपाली कांग्रेसको शक्तिशाली भ्रातृ संगठनका हरेक निकायमा काम गरेका शाही इमान्दर र कर्तव्यनिष्ठ नेताका रूपमा परिचित छन् । समयावअघि थप्दै जाँदा पनि तत्कालिन सभापति नैनसिंह महरले राष्ट्रिय अधिवेशन गराउन नसक्दा विगठन भएको थियो ।

कांग्रेसको ‘नर्सरी’का रुपमा रहेको संगठन नहुँदा पार्टी पनि कठिन अवस्थामा रहेको मुल्यांकन गरेका शाही भन्छन्,‘जिम्मेवारी दिनका लागि नेताहरू तयार भएको खण्डमा ६ महिनाभित्र राष्ट्रिय अधिवेशन गरी नयाँ विद्यानअनुसारको नेतलाई संगठन सुम्पिन सक्छु ।’

विद्यार्थी संगठन अस्तव्यस्त बनाउनका लागि यहि संगठनका केही नेता नै उद्दत रहेको दृष्टान्त अघि सारेका उनले थप्छन्,‘कांग्रेसको मुटुका रुपमा रहेको संगठनलाई कमजोर पारी पार्टी नेतृत्वलाई नै आलोचना गरि हिँड्ने कतिपय साथीका कारणले नेवि संघ पछि परेको अनुभूति सबैले गरेका छन् ।’

शाही ११ औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । विगठन हुनुअघि उनले राजनीतिमा नैतिकताको राख्दै राजीनामा गरेका थिए ।

‘केही होला र संगठनले गति पाउला भन्ने थियो, लामो समयसम्म पाउन सकेन । यसमा कांग्रेस सभापतिलगायतले गम्भिरताका साथ लिनु भएको छ, नेताहरूले मलाई जिम्मा दिएको खण्डमा बोलेको कुरा खेर जान दिने छैन’, उनी भन्छन्,‘कतिपय जिल्लामा जिल्ला अधिवेशन सक्दै, केन्द्रमा राष्ट्रिय अधिवेशन सकी नेतृत्व हस्तान्तरण गर्नेछु ।’

हाल संगठनको संरचनाको कुनै टुंगो नहुँदा यसका विभिन्न तहका सदस्यहरू निराश रहेको, युवा विद्यार्थी छरपष्ट रहेको दृष्टान्त अघि सारेका उनी थप्छन्,‘सबैलाई समेटेर अहिलेको शिक्षा प्रणालीलगायतका मुद्दामा संगठनात्मक हिसाबले सरकारलाई दबाबमा ल्याउनुपर्ने हुन्छ, ढिलो भइसकेको छ ।’

कांग्रेसले केही सातामा नेवि संघको राष्ट्रिय अधिवेशनको एजेन्डालाई केन्द्रीय समितिमा लगेर त्यसका लागि संयोजक चुन्न सक्ने संकेत देखाएका बेला शाहीको यस्तो दृढता अघि आएको हो ।

उनले दैनिक नेपालसँग भने,‘यो मेरो रहर र आकांक्षा होइन । कमजोर रहेको नेवि संघलाई बलियो बनाउनका निम्ति, लोकतन्त्र र शिक्षा प्रणालीमा लोकतान्त्रिक शक्तिको दरिलो उपस्थितिका निम्ति लिन खोजेको चुनौति हो ।’

अहिले लोकतन्त्रलाई नै चुनौति हुनेगरी कामहरु भइरहेका बेला त्यसलाई बलियो बनाउन पनि नेवि संघको दरिलो उपस्थिति अनिवार्य रहेको शाहीले ठानेका छन् ।

प्रतिक्रिया
सम्बन्धित