काठमाडौं , २१ साउन । एकैपटक चार सचिव पद रिक्त भएसँगै सचिव बढुवा प्रक्रिया छिट्टै थालिने भएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।
विभिन्न मन्त्रालय र निकायमा कार्यरत चार जना सचिवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवकाशको जानकारी गराएका छन् ।
खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विष्णुप्रसाद लम्साल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीले आज (मंगलबार)देखि अवकाश पाएका छन् भने युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भोलिदेखि अवकाश पाउँदै छन् ।
चारै जनाको अवकाशसम्बन्धीको जानकारी प्राप्त भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार अवकाश हुनासाथ प्रधानमन्त्री कार्यालयकै सचिव विष्णुप्रसाद लम्सालले कर्मचारी प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा वरिष्ठ अनुसन्धान अधिकृतका रूपमा नियुक्ति पाएका छन् । अवकाश पाएका अन्य सचिवहरू पनि राजनीतिक नियुक्ति पाउन दौडधूपमा छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार चार सचिवले अवकाश पाएसँगै नयाँ सचिव नियुक्तिको प्रक्रिया थालिनेछ ।
यसका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिवको कार्यसम्पादन मूल्यांकन विवरण मगाउने गृहकार्य थालेको छ ।
बढुवा समितिले दुई जना प्रशासन सेवाका र दुई जना इन्जिनियरिङ सेवामा सचिव बढुवा सिफारिस गर्नेछ ।
प्रधानमन्त्री कार्यालयका अनुसार दुई–तीन दिनभित्रै सचिव बढुवा सिफारिस समितिको पहिलो बैठक राख्ने तयारी थालिएको छ । स्रोतका अनुसार रिक्त प्रशासनतर्फको दुई सचिवका लागि वरिष्ठ सहसचिवहरू तोयानारायण ज्ञवाली, तोयम राय, रामकृष्ण सुवेदी र बालकृष्ण घिमिरेबीच प्रतिस्पर्धा हुनेछ ।















प्रतिक्रिया