काठमाडाैं, २१ साउन । संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६ वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो ।
प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा सद्दे रहेको पाइएको छ । ‘कमिसनको मोहमा संसद् सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन्,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘संसद् सचिवालयले लामो समयसम्म थन्क्याएर राखेका गाडी परीक्षण गर्दा सद्दे नै पाइएपछि प्रधानमन्त्री कार्यालयले लगेको हो ।’ प्रयोग नगरी थन्क्याएकाले ती गाडी मर्मत भने गर्नुपर्ने अवस्थामा रहेको स्रोतले बतायो ।
‘सामान्य मर्मतपछि हामी ती गाडीलाई प्रदेश तथा स्थानीय तहमा पठाउनेछौं, हामी एउटा पनि सद्दे गाडी थन्क्याउन नदिने अभियानमा छौं,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।
सद्दे गाडी बिग्रिएको भन्दै थन्क्याएर राखेको संसद् सचिवालय ३ करोडमा पाँचवटा नयाँ गाडी खरिद गर्ने प्रक्रियामा छ । सचिवालयले पाँच गाडी खरिद गर्न फागुन पहिलो साता बोलपत्र आह्वान गरेको सवारी शाखाका उपसचिव डिल्लीराम रिजालले जानकारी दिए ।















प्रतिक्रिया