६ कार्तिक २०८३, शुक्रबार

यी हुन् पुराना सरकारी गाडी थन्काएर नयाँ चढ्ने सभापतिहरू

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ साउन । नयाँ गाडी अर्थसमिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय समिति सभापति पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदी र महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले पाएका छन् । राजधानी दैनिकले समाचार छापेकाे छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशि श्रेष्ठ, राष्ट्रिय सभातर्फ विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले पनि नयाँ गाडी पाएका छन् ।

संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्ण, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन, अनुगमन र मूल्यांकन समितिका सभापति निरादेवी जैरुले पनि नयाँ गाडी चढ्न थालेका छन् । संसद्मा प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ र संयुक्त २ गरी १६ समिति छन् ।

२०७४ जेठमा किनिएका स्कार्पियोे जिप विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, शिक्षा समिति सभापति जयपुरी घर्ती, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तव, सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह र राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले लगेका छन् ।

‘सभापतिका लागि २० वटा स्कार्पिओ र राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक वटा गाडी किन्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका थियौंं,’ संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘अर्थले बजेट नपुग्ने भन्दै निकासा नदिएपछि खरिद प्रक्रिया नै रोकिएको थियो ।’

संसद् सचिवालयसँग ९३ गाडी भए पनि थप गाडी मागिएको थियो । तीमध्ये चारवटा बस छन् । संघीय संसद्मा गाडी व्यवस्थापन गर्न छुट्टै सवारी शाखा छ । सवारी शाखाका अनुसार हाल सचिवालयमा ४२ वटा स्कार्पिओ भएकोमा थन्किएर रहेका १२ गाडी प्रधानमन्त्री कार्यालयले मर्मत गरेर सञ्चालनमा ल्याएको छ । समितिका सबै सभापतिले सोही गाडी प्रयोग गरे पनि पुरानो भन्दै नयाँ माग गरेको थिए ।

सभामुख, अध्यक्ष, विपक्षी दलका नेता, सत्ता पक्षका नेता, सत्ता पक्षका मुख्य सचेतक, विपक्षी दलका मुख्य सचेतक, सत्ता पक्षका सचेतक र विपक्षी दलका सचेतकले यसअघि नै नयाँ स्कार्पियो गाडी लिइसकेका छन् । अब राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभा उपसभामुखलाई मात्र नयाँ गाडी खरिद गर्न बाँकी रहेको संसद् स्रोतले जनाएको छ ।

गाडी पर्याप्त भएकाले कुनै बिग्रिए प्रयोगका लागि भन्दै तयारी अवस्थामा राखिएको सवारी शाखाले जनाएको छ । ‘सभापतिको गाडीमा समस्या आए प्रयोगमा ल्याउन दुईवटा गाडी छन्,’ सचिवालयका कर्मचारीले भने, ‘सभापतिहरूले भने नयाँ गाडी चढ्ने इच्छा देखाउँदा नयाँ गाडी किन्नुपरेको हो ।’

नयाँ गाडी खरिद गर्दा कमिसन आउने भएकाले पनि यस्तो भएको संसद् सचिवालयकै कर्मचारी बताउँछन् । एक कर्मचारीले भने, ‘नयाँ किन्दा कमिसन आउँछ । पुराना गाडी लिलामीमा लैजाँदा पनि तिनीहरूका पार्टपुर्जा निकाल्छन् । सिंहदरबारबाट गाडीको टायर हराएको त्यसै होइन ।’

सचिवालय प्रवक्ता पाण्डेले भने केही गाडी पुराना भएकाले नयाँ किन्नुपरेको बताए । उनले मर्मतमा धेरै खर्च हुने गरेको बताए । सभामुख महरा अहिले ल्यान्डक्रुजर गाडी चढिरहेका छन् । सुवास नेम्वाङ सभामुख भएका बेला उक्त गाडी किनिएको हो । त्यस्तै, राष्ट्रिय सभा अध्यक्षले पनि ल्यान्डक्रुजर नै चढ्दै आएका छन् ।