६ कार्तिक २०८३, शुक्रबार

रवीन्द्रको सपना योगेशको काँधमा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । फूलमाला र खादाको स्वागतसँगै मन्त्रालय छिर्दा योगेश भट्टराई भावुक देखिन्थे। राजनीतिमा सधैंका सहयात्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त मन्त्रालयको नेतृत्व काँधमा आउँदा उनी भावुक देखिनु स्वाभाविक थियो।

विद्यार्थीकालदेखि एकै मोर्चाका सहयात्री थिए, योगेश र रवीन्द्र। मन्त्रालयमा छिर्नुअघि योगेशले भने, ‘म रवीन्द्र अधिकारीको उत्ताराधिकारी हुँ भन्नुमा गर्व छ।’ योगेशले कार्यभार सम्हालेपछि रवीन्द्रलाई नै पहिले सम्झे। ‘मैले भन्दा रवीन्द्रले नै मन्त्रालय राम्ररी समाल्न सक्नुहुन्थ्यो। तर, प्रकृति र नियतिलाई रोक्न सकिएन,’ योगेशले भने।

पार्टी राजनीतिमा योगेश अग्रज भए पनि संसदीय मोर्चा र शासकीय जिम्मेवारीमा रवीन्द्र अनुभवी थिए। पहिलोचोटि संसद् छिरेका योगेशले संसदीय अभ्यास रवीन्द्रसँगै सिकेका थिए। प्रधानमन्त्री केपी ओलीले योगेशलाई उनै रवीन्द्रले सम्हालेको मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर दिए। योगेशले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिए।

गत फागनु १५ मा तत्कालीन मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए। प्रधानमन्त्रीले योगेशलाई पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्न पटकपटक आग्रह गरेका थिए।

‘सहृदयी मित्र’ रवीन्द्रले सम्हालेको मन्त्रालय र त्यो पनि आफ्नै गृहजिल्लामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका कारण योगेशले मानेका थिएनन्। पार्टीभित्रको ‘चर्काे दबाब’ र सरकारको प्रतिरक्षामा योगेशले खेलेको भूमिकाले योगेशलाई मन्त्री बनाउन प्रधानमन्त्री बाध्य भएका हुन्।