बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

पर्यटनमन्त्री बनेका योगेश भट्टराई को हुन् ?

रामकुमार शाही २०७६ साउन १५ गते १५:४९

-रामकुमार शाही/दैनिक नेपाल

काठमाडौँ, १५ साउन । बुधबार दिउँसो एक्कासी आएको एउटा खबरले नेकपा कार्यकर्ताहरुमा खुशी छायो । बधाई र शुभकामनाले सामाजिक सञ्जाल रंगियो । सत्तारुढ नेकपाका कार्यकर्तामात्र होइन विपक्षी दलका नेता/कार्यकर्ताले समेत बधाई र शुभकामना दिए ।

खबर थियो–नेकपा युवा नेता योगेश भट्टराई पर्यटनमन्त्री बने, आजै सपथ हुने !

वास्तवमा भट्टराई प्रतिनिधिसभा निर्वाचनताका नै मन्त्रीका लागि चर्चामा रहेका उम्मेदवार दिए । चुनाव जिते उनी मन्त्री हुने धेरैको अपेक्षा थियो । त्यही किसिमले प्रचार—प्रसार पनि भइरहेको थियो । किनकी, तत्कालीन एमालेको पदाधिकारीभित्र लाभको पदमा नपुगेका एक मात्र पात्र भट्टराई थिए ।

तत्कालीन एमालेका सचिव एवं प्रचार विभाग प्रमुख समेत रहेका उनी आफ्नै गृहजिल्ला ताप्लेजुङबाट वाम गठबन्धनको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका थिए ।

भट्टराई काँग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार पाँच सय ९१ मतले हराउँदै विजयी भए । भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी दाहालले १६ हजार ८ सय ८८ मत ल्याए ।

तर, चुनाव जितेर आएपनि भट्टराईले मन्त्री बन्न पाएनन् । आकांक्षी सबैजना एकैपटक मन्त्री बन्न सम्भव पनि थिएन, हुँदैन पनि । तर, जब योगेश मन्त्री बनाइएनन् तत्कालीन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना सुरु भयो । नहोस् पनि किन, उनै ओलीले भट्टराईको चुनावी सभालाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका बेला भनेका थिए–योेगेशलाई चुनाव जिताएर पठाउनुस्, म मन्त्री बनाएर पठाउँछु ।

जब, उनै ओली प्रधानमन्त्री भए, तीन/चार पटक मन्त्रीमण्डल विस्तार गरे तर, भट्टराई मन्त्रीमण्डलमा अटाएनन् । ओलीसँग आक्रोशित कार्यकर्ताले ताप्लेजुङको भाषणलाई ‘भाइरल’ बनाए । यद्यपी, योगेश मन्त्री बनेनन् ।

भट्टराई पार्टीभित्र अध्यक्ष ओलीइतर लाइनका रुपमा परिचित छन् । त्यसकारण फरक समूहकै भएका कारण ओलीले उनलाई मन्त्री बनाएनन् भन्नेखालका प्रचार पनि गरिए ।

संसदको सार्वजनिक सुनुवाई समितिमा रहेका भट्टराईले प्रभावकारी काम गरेका थिए । प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वाेच्चका विवादित न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्ने काममा भट्टराईले नेतृत्व गरेका थिए ।

साथै, चिकित्सा शिक्षा विधेयक पास गराउनमा पनि भट्टराईले महत्वपूर्ण भूमिका खेलेका थिए । मन्त्री नबनाइएपछि कतिपयले उनलाई सुनुवाई समितिको सभापति बनाउनुपर्ने माग राखेका थिए । तर, भागबण्डा गर्दा राजपाका लक्ष्मणलाल कर्णलाई समिति सभापति बनाइएको थियो ।

नेतृत्वले गरेका गलत कामको खुलेर विरोध गर्ने स्वभाव भट्टराईमा छ । संसदमा समेत सरकारले गरेका गलत कामको खबरदारी र राम्रो कामको प्रसंशा गर्ने भूमिका उनी प्रस्तुत हुन्छन् । भट्टराईको यही बानीका कारण उनी मन्त्री बन्न सकेनन् भन्ने टिप्पणी पनि नसुनिएका होइनन् ।

तर, नेकपाभित्र प्रष्ट वक्ताको परिचय बनाएका, अहिलेसम्म कुनैपनि लाभको पदमा नपुगेका र मन्त्रीका लागि जनस्तरबाट निकै रुचाइएका उनै भट्टराई अन्तत : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बनेका छन् ।

गएको फागुन १५ गते भट्टराईकै जिल्ला ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन मन्त्री रबीन्द्र अधिकारीको निधन भएपछि मन्त्रालयको नेतृत्व प्रधानमन्त्री ओलीले नै गरिरहेका थिए । संयोगले १५ गते (साउन) गते नै प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मा दिएका छन् ।

केही समय पहिले ओलीले भट्टराईलाई बालुवाटार बोलाएर मन्त्रीका लागि तयार रहन भनेका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूइतर समूहका नेताहरुलाई समेत बालुवाटार बोलाएर हार्दिकतापूर्वक भेटघाट गर्ने गरेको समाचारहरु बाहिर आएका छन् ।

कार्यकर्ता र जनस्तरमा निकै रुचाइएका भट्टराईले मन्त्री हुँदा त्यो साख जोगाउछन् या जोगाउँदैनन् त्यो उनको कार्यकालले बताउने नै छ । यदि, उनले आफ्नो पहिलो कार्यकालमा राम्रो ‘पर्फमेन्स’ दिन सके भने पक्कै पनि उनको आगामी राजनीति यात्रा थप उज्यालो हुनेछ ।

को हुन् योगेश भट्टराई ?

योगेश भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो ।

उनले अखिलमा विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा बसेर काग गरेका थिए । भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका हुन् ।

भट्टराईले स्कुल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कुल पढ्ने समयमै वामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमीकै थिए ।

उनी २०४० सालमा पञ्चायत विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परेका थिए । २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भएका भट्टराई २०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका थिए । त्यसपछि भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए ।

२०६२/६३ को जनआन्दोलनमा एमाले काठमाडौँ उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौँ महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भएका थिए ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँबाट पराजित भएका उनी गएको प्रतिनिधिसभमा निर्वाचनमा भने ताप्लेजुङबाट भारी मतका साथ विजयी भएका थिए ।

भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन् ।

उनले भारत, चीन, अमेरिका क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरिसकेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित