काठमाडौं, १५ साउन । कांग्रेसले सर्लाही घटना छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदनमा अवरोध कायमै राख्ने भएको छ। कांग्रेस र राजपा मिलेर समिति बनाउनुपर्ने मागसहित प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।
सोमबार नाराबाजीका कारण स्थगित बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ। प्रतिपक्षी दुवै दलले सरकारले विधिको शासन र मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन्। सर्लाही घटनाको छानबिन हुनुपर्ने माग गर्दै बुधबार पनि बैठक अवरुद्ध गर्ने दुवै दलले जनाएका छन्।
‘गैरन्यायिक हत्या कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन। सरकारले विधिको शासन र मानवअधिकार एकपछि अर्काे गरी उल्लंघन गरिरहेको छ’, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘सर्लाहीमा भएका दुइटै घटना त्यसका उदाहरण हुन्। त्यसको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ।’
सर्लाहीमा असार ५ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका थिए। सर्लाहीमै १३ वर्षीय बालकको मृत्यु प्रकरणमा प्रदर्शन हुँदा गोली लागी नारायणसिंह महतोको ज्यान गएको थियो।
‘विप्लवको राजनीतिक लाइनमा कांग्रेसको असहमति छ। हत्या र हिंसाको राजनीतिलाई कुनै पनि हालतमा प्र श्रय दिन सकिँदैन’, कांग्रेस प्रमुख सचेतक खाणले भने, ‘तर, आमनागरिकको बाँच्न पाउने अधिकार रक्षा गर्न कांग्रेसले आवाज उठाउँछ।’
सभामुख कृष्णबहादुर महराले सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न सकारात्मक रहेको बताएका थिए। उनी सरकारको दबाबमा पछि हटेको कांग्रेसको ठहर छ।
सभामुख महराले सदनको अवरोध हटाउन सदनमा रहेका सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन्। सत्तारुढ दलले भने समिति गठनमा सहमति जनाएको छैन।















प्रतिक्रिया