शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

कृषि पेशामा ‘अब्बल’ किसान

दैनिक नेपाल २०७६ साउन ८ गते १५:३५


– काशीराम शर्मा
बाँके, ८ साउन । खजुरा गाउँपालिका–३ का तुलबहादुर कँडेल ठूलो लगानी गरेर कृषि पेशालाई व्यावसायिक रुपमा अँगाल्ने कृषक हुनुहुन्छ । नेपालगञ्जको बसाइ छाडेर खजुरामा बाख्रापालन व्यवसायबाट कृषि क्रान्ति गर्ने र विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्य बोकी कँडेलले हिलपार्क कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहनुभएको छ ।

तुलबहादुरको फार्ममा अहिले दिनहुँजसो आगन्तुक पाहुना आएर ज्ञान र शीप लिएर जोशिँदै फर्किन्छन् । नेपालगञ्जमा होटेल व्यवसाय गरेर करोडौंको मालिक बन्नुभएका उहाँ विलासी गाडी चढ्दाको भन्दा कृषि पेशाले खुशी दिएको बताउनुहुन्छ । गाडीमा संसार डुल्दा शरीर दुख्ने समस्या रहेको र कृषि कर्म गर्न थालेदेखि स्वस्थ बनेको उहाँको अनुभव छ ।

खजुरा–३ सिर्जनाटोलमा रहेको उहाँको फार्ममा करीव एक दर्जनले रोजगारी पाएका छन् । देशकै ठूलो पशुपालन फार्म बनाउने उहाँको लक्ष्य छ । । च्याउ उत्पादक कृषकका रुपमा खजुरामा लालबहादुर सुनारको नाम निकै परिचित छ । वैदेशिक रोजगारीबाट खाली हात फर्केका उहाँले जीविका धान्न तरकारीसँगै च्याउखेती गर्न थाल्नुभयो ।

सात वर्षअघि थोरै लगानीबाट व्यवसाय शुरु गरेका उहाँले हालसम्म यसै फार्ममा रु एक करोडभन्दा बढी लगानी गरिसक्नुभएको छ । अथक मेहनतकै कारण लालबहादुर देशकै उत्कृष्ट च्याउ उत्पादक किसानका रुपमा सम्मानित पनि हुनुभएको छ । मौसममा दैनिक दुई क्विन्टलसम्म च्याउ उत्पादन गर्नुभएका उहाँले राष्ट्रपति उत्कृष्ट पुरस्कार र सार्कस्तरीय अवार्डसँगै थुप्रै पुरस्कार पनि प्राप्त गरिसक्नुभएको छ ।

गाउँपालिकाका एक किसानले यति ठूलो पुरस्कार पाउँदा गाउँपालिकाकै नाम समेत देश विदेशमा चिनिन पुगेको उहाँले बताउनुभयो । उहाँको फार्म अवलोकन गर्न देशका विभिन्न जिल्लाबाट समूह, सहकारीका किसान, कृषिसम्बन्धी चासो राख्नेहरु आउने गरेका छन् । उहाँको कामबाट प्रेरणा र शीप सिकेर धेरैले व्यवसाय सञ्चालन गरेका छन् ।

जिल्लाकै सबैभन्दा धेरै टमाटर उत्पादन गर्ने कृषकका रुपमा परिचित गेनालाल मुराउ उमेरले ७२ कटिसके पनि उहाँको जोश र जाँगरले भने जो कोहीलाई पनि प्रेरणा दिन्छ । मौसममा दिनको १५/२० क्विन्टलसम्म टमाटर बिक्री गर्दै आउनुभएका मुराउले उत्पादन गरेको टमाटरको माग अन्यत्रभन्दा ज्यादा छ ।

टमाटर खेती बढाउँदै लग्नुभएका मुराउले गतवर्ष १५ बिघा जग्गामा खेती गर्नुभएको थियो । टमाटरसँगै आँपलगायतका फलफूल खेती पनि गर्दैआउनुुभएका मुराउले जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय पुरस्कारहरु पाइसक्नु भएको छ । उहाँको बारेमा जान्न र यस्तै तरीकाले खेती गर्न टाढाबाट युवा किसानहरु अवलोकन गर्न आउने गरेका छन् ।

खजुरा–३ सीतापुरका गेहेन्द्र धिताल धेरैका किसान गुरु हुनुहुन्छ । कपास विकास समितिमा सरकारी जागीर छाडेर व्यावसायिक कृषिमा लाग्नुभएका उहाँले सफल किसानको परिचय बनाउनुभएको छ । उहाँको बारीमा बा¥हैमास केही न केही तरकारी फलेको देख्न पाइन्छ । गेहेन्द्रको तरकारी र फलफूल खेतीबाहेक अन्य व्यवसाय छैन ।

उहाँले आफ्नो घरखर्च चलाउँदै छोराछोरीलाई अध्ययन गराइरहनु भएको छ । आधुनिक प्रविधिबाट खेती गर्दै आउनुभएका उहाँसँग धेरै किसानहरु लालायित हुँदै सल्लाह लिने गर्छन् । उहाँबाट प्रेरणा लिएर धेरैले गाउँमै तरकारी खेती शुरु गरेका छन् । गेहेन्द्रले अनुदानभन्दा पनि आफ्नो कर्ममा बढी विश्वास लाग्ने गरेको बताउनुभयो ।

नेपालगञ्जमा चलेको होटल व्यवसायलाई छाडेर बङ्गुरपालन व्यवसाय गरी कृषिमा क्रान्ति गर्छु भन्दै खजुरा पुग्नुभएका किसान प्रेम खरेलले ब्राहमणले बङ्गुर छुन हुन्न भन्ने मान्यतालाई चिर्दै व्यवसायलाई निरन्तरता दिनुभयो । अहिले उहाँलाई काममा भ्याइनभ्याई छ । बङ्गुर व्यवसायबाट शुरु उहाँको कृषि कर्म बाख्रा, हाँस, माछा, खरायो, लोकल कुखुरापालनसम्म पुगेको छ ।

लाखौं युवाका लागि प्रेरणाको स्रोतका रुपमा खरेललाई लिन सकिन्छ । पशुपालनमा लागेपछि खरेलको चर्चा पनि देश विदेशमा हुने गरेको छ । पशुपालन थालेपछि उहाँ पनि जिल्ला स्तरीय, क्षेत्रीय तथा राष्ट्रिय पुरस्कारबाट पुरष्कृत भइसक्नु भएको छ । अहिले उहाँले आफ्नो फार्मलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहनुभएको छ जसले गर्दा उहाँको व्यवसायको चर्चा झनै बढेको छ ।

खजुराका पुराना व्यावसायिक किसानहरुको भीडमा वडा नं ५ का अब्दुल अन्सारीको नाम अग्रपङ्क्तिमा आउने गर्छ । खजुरामा व्यावसायिक रुपमा किसानहरुले तरकारी खेती नगर्दा अन्सारीले शुरुआतमै ठूलो क्षेत्रफलमा तरकारी खेती गर्नुभएको थियो । उहाँकै बारीको तरकारीले खजुरा बजारका उपभोक्त्ताको भान्सा धानेको छ । अहिले पनि उस्तै जोश लिएर अन्सारीले व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ ।

उहाँको खेतबारीमा काम गर्नेले अहिले आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेका छन् । शीप सिक्ने पाठशालाजस्तै छ, अन्सारीको खेतीपाती । आफ्नै मेहनत र आँटले देश विदेशमा चिनिनुभएका उहाँले खजुरालाई पनि उसैगरी परिचित बनाउनुभएको छ । खजुरामा तरकारी खेतीको इतिहास अन्सारीबाटै शुरु हुने गर्छ ।

खजुरा मनकामनाका काशीराम कँडेल व्यावसायिक गाइपालक किसान हुनुहुन्छ । तीन दशकदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका उहाँ किसानका हकहितमा निडर भएर बोल्ने किसान नेताका रुपमा पनि परिचित हुनुहुन्छ । गाईपालनबाटै आफ्नो व्यवहार धानेका उहाँले तरकारीसँगै अन्नबाली पनि लगाउँदै आउनुभएको छ । उत्पादन गरेको दूध वर्षभरि डेरीमा पु¥याउने किसानहरुको नाम लिँदा काशीरामको नाम अग्रपङ्क्तिमा आउँछ ।

खजुरा–२ गौरीनगरका ६१ वर्षीय कृषक खत्री टमाटर र कुखुरापालक किसान हुनुहुन्छ । परम्परागत रुपमा टमाटर खेती गर्दैआउनुभएका उहाँले आधुनिक प्रविधि अपनाएर झण्डै दोब्बर उत्पादन लिँदै आउनुभएको छ । परम्परागत रुपमा लगाइने टमाटरको एक बोटमा पाँचदेखि छ किलोसम्म उत्पादन हुन्छ । आधुनिक प्रविधि अपनाएपछि आठदेखि दश किलोसम्म उत्पादन लिन सकेको उहाँको भनाइ छ ।

बाहिरी जिल्लाहरुबाट फार्म अवलोकनका लागि आउने किसानहरुलाई कृषिमा नयाँ प्रविधिको प्रयोग गर्न उहाँले सुझाव दिनुहुन्छ । छ वर्षअघि कृषि विकास बैंकबाट अवकाश लिएसँगै उहाँ व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको हो । जागीरे भएकै बेला पनि सामान्यरुपमा खेती गर्दै आउनुभएका खत्रीले अवकाश लिएपछि पूरै समय खेतबारीमा खर्चिन थाल्नुभएको छ ।

आधुनिक इजरायली प्रविधि, थोपा सिँचाइ तथा प्लाष्टिक मल्चिङ गरेर टमाटर उत्पादन गरिरहनुभएका उहाँले वार्षिक १५ देखि २० लाखसम्म नाफा कमाउनुहुन्छ । खत्रीले एक दर्जनभन्दा बढीलाई रोजगारी पनि दिनुभएको छ ।

खजुरामा आधुनिक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती गरी सफल व्यक्तिको रुपमा परिचय बनाउनुभएको छ, पदमबहादुर रानाले । तरकारी खेतीमा के गर्नुपर्छ भनेर जान्न कृषक पदमको घर खजुरा–३ मा पुगे हुन्छ । पदमले गरेको आधुनिक प्रविधिलाई खजुराका अन्य किसानले पनि अपनाएका छन् । उहाँको खेतबारीमा काम सिकेर धेरै युवा व्यावसायीक बनेका छन् । बाँकेमा राष्ट्रपति पुरस्कार पाउने पहिलो कृषक पनि उहाँ नै हुनुहुन्छ ।

खजुरामा धेरै किसानहरु कृषि कर्मबाटै सफल जीवन बिताइरहेका छन् । गाउँपालिकाले पनि वर्षेनी किसानहरुको प्रोत्साहन तथा कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट छुट्टाएको कृषि शाखाका प्रमुख समिर ठाकुरले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ मा रु ४० लाख कृषिमा छुट्टयाएको गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा रु ६० लाख बजेट विनियोजन गरेको छ । “हुन त खजुरालाई देश विदेशमा चिनाउने कृषि पेशा मात्रै होइन तर पनि, कृषि बिना खजुरा अधुरो छ,” खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले भन्नुभयो – “बाँकेमै खजुरा क्षेत्र कृषि उत्पादनमा अगाडि छ ।”

कृषि पेशामा अब्बल बनेका व्यावसायिक किसानहरुले आफूमात्रै कृषि कर्म गरेका छैनन् कि नयाँ पुस्तालाई पनि कृषि व्यवसायमा लाग्न प्रेरित गरिरहेका छन् । अन्य जिल्लाबाट खजुराका किसानले अपनाएको व्यावसायिक कृषि पद्धतिको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । –रासस

प्रतिक्रिया
सम्बन्धित