आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

बाढी र डुवानका कारण सर्पले डसेका बिरामीको चाप बढे

दैनिक नेपाल २०७६ साउन ८ गते १४:२७


विराटनगर, ८ साउन । विराटनगरस्थित प्रादेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ ।

अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताउनुभयो ।

गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको बताउँदै उहाँले सर्पले डसेर उपचारका लागि अस्पताल आएका बिरामीमध्ये अहिलेसम्म कसैको मृत्यु नभएको जानकारी दिनुभयो ।

उपचारका लागि अस्पतालमा आएका यस्ता बिरामीमध्ये पाँच प्रतिशत सर्प डसेको हुन सक्ने शङ्काका आधारमा आउने गरेकोे उहाँको भनाइ छ । समयमै उपचार नपाउँदा गत वर्ष सर्पले डसेको दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सर्पले डसेका अधिकांश बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको जानकारी दिँदै डा ज्ञवालीले यस्ता बिरामीको उपचारका लागि औषधिको अभाव नरहेकोे बताउनुभयो ।

वर्षाको मौसममा सर्तकता अपनाउनु पर्ने, घर सफाइमा ध्यान दिनुपर्ने, दुलो टाल्नु पर्ने, राति सुत्दा झुल लगाएर मात्र सुत्ने र राति बाहिर निस्कँदा टर्चलाइट बालेर मात्र निस्कनुपर्ने सुझाव डा. ज्ञवालीको छ ।

सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा व्लेडले चिर्नेलगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले जेठदेखि अहिलेसम्म २५ जना डेङ्गुका बिरामी उपचार गर्न आएको बताउनुभयो । उहाँले यस वर्ष झाडापखाला लागेर आउने बिरामीको सङ्ख्या गत वर्षभन्दा घटेको बताउनुभयो । झाडापखालाबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने, खानु अघि हात धोएर मात्र खाने, दूषित पानी नपिउने, बासी र सडेगलेका खानेकुरा नखाने, फलफूल र हरियो सागसब्जी सफा पानीले पखालेर मात्र खाएमा यसबाट सजिलै बच्न सकिन्छ । –रासस

प्रतिक्रिया
सम्बन्धित