१७ कार्तिक २०८३, मंगलबार

संसदीय टोलीद्वारा बाढी प्रभावित बस्तीको निरीक्षण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लहान, ५ साउन । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुको संसदीय टोलीले बाढी प्रभावित सिरहाका विभिन्न स्थानको निरीक्षण गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू नेतृत्वको संसदीय टोलीले हालैको अविरल वर्षा र बाढीबाट प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, वडा नम्बर १२ सारस्वर, कल्याणपुर नगरपालिकाको इटारी प्रसाही, कर्जन्हा नगरपालिकाका बाढी प्रभावित बस्तीको निरीक्षण गर्नुभएको हो ।

सो क्रममा संसदीय टोलीका सदस्यहरुले बाढी पीडितहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । बाढी पीडितहरुले वर्षा र बाढीले वर्षेनी आफूहरु यस्तो समस्या भोग्दै आएको पीडा सुनाउँदै समस्या दिगो रुपमा समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै सो टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतसँग बाढीले पु¥याएको क्षति र उद्धार तथा राहत वितरणको अवस्था बारे जानकारी लिएको थियो ।

सो टोलीमा प्रतिनिधिसभा सदस्यहरु राजकिशोर यादव, डिला सङ्ग्रौला, यशोदा सुवेदी गुरुङ लगायतको सहभागिता थियो । टोलीले सिरहासहित सप्तरी, सुनसरी, मोरङ र उदयपुर गरी पाँच जिल्लाका बाढी प्रभावित स्थानको अनुगमन गर्नेछ । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राज्य व्यवस्था तथा सुशासन समितिमा प्रतिवेदन बुझाइने समितिका सदस्य तथा सांसद बडूले जानकारी दिनुभयो । –रासस