बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सामुदायिक विद्यालयमा कृषिबाली विज्ञानको पढाइ

दैनिक नेपाल २०७६ साउन ५ गते १७:०२


पाल्पा, ५ साउन । रम्भा गाउँपालिका–१ हुगीस्थित जनकल्याण माविमा कृषिबाली विज्ञान पढाइ सञ्चालनमा आएको छ ।

कक्षा ९ देखि १२ कक्षासम्म कृषिबाली विज्ञान पढाइ शुरु भएको हो । गाम्रीण क्षेत्रको विद्यालयलबाट प्राविधिक धारको शिक्षा पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई यसै विषयको अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

टाढाबाट बाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रावासको व्यवस्था छ । दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई रम्भा गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको विद्यालयका प्रअ युगराज पन्थले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीले चालू आवमा विद्यालय भवन बनाउनका लागि रु २० लाख र प्राविधिक शिक्षा सञ्चालन गर्न भौतिक सामग्रीका लागि रु चार लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्राविधिक धारतर्फ आगामी चार वर्ष्भित्र चारवटा कोठाको अभाव मेट्नका लागि भवन निर्माण गर्न थालेको हो । कृषिबाली विज्ञानतर्फ पढाइ सकेपछि रोजगार पाउने भएपछि विद्यार्थीको आकर्षण बढ्दो छ । यस क्षेत्रमा प्राविधिक धारका कक्षा सञ्चालन हुन नसक्दा यहाँका विद्यार्थी सदरमुकाम तानसेन र जिल्ला बाहिर धाउन बाध्य थिए ।

रम्भा गाउँपालिकाले कृषिबाली विज्ञान सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि सदरमुकाम तथा जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेका कारण यस क्षेत्रका अभिभावक पनि खुशी भएका छन् । गाउँपालिकाले प्राविधिक धारतर्फ कृषिबाली विज्ञान कक्षा ९ देखि सञ्चालन गर्न अनुमति प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । सो विषयमा विद्यालयलाई ४८ विद्यार्थीलाई पढाउन अनुमति दिएको छ ।

विद्यालयलाई पाँच लाख सहयोग

रम्भा गाउँपालिका–१ हुँगीका जनार्दन पन्थले पाँच लाख आर्थिक सहयोग गरेका छन् । विद्यालयका चारजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी पन्थले आर्थिक सहयोग गरेका हुन् । विद्यालयले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने विद्यालयका प्रअ युगराज पन्थले बताउनुभयो । अक्षयकोष दाता पन्थ हाल काठमाडौँमा बसोवास गर्दै आउनुभएको छ । -रासस

प्रतिक्रिया
सम्बन्धित