आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

‘अनियमितता गरेको प्रमाणित गरे जस्तो सुकै कारवाही भोग्न तयार’

दैनिक नेपाल २०७६ साउन ४ गते १७:०९

-प्रतिक पौडेल
भैरहवा, ४ साउन । रुपन्देहीको गैडहवा गाउपालिका अध्यक्ष बच्चुलाल केवटले अनियमितता गरेको प्रमाणित गरे जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । वडा अध्यक्षहरुले लगाएको आरोपको खण्डन गर्दै केवटले वडा अध्यक्षहरुले आफु माथि लगाएको अनियमितताको आरोप गलत भएको बताएका छन् ।

गत बिहिवार गाउँपालिकाका ७ वटा वडाका अध्यक्षहरु सहित दलका प्रतिनिधिहरुले बुटवलमा पत्रकार सम्मेलन गरि अध्यक्षले व्यापक अनियमितता गरेको आरोप लगाएका थिए ।

केवटले आफुलाई आरोप लाउने सबैलाई आरोप प्रमाणित गरेर मात्र बोल्न आग्रह गरे । केवटले कुनै पनि अनियमितता नगरेको दावी गर्दै यदि आफुलाई लगाएको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताए ।

केवटका अनुसार बजेट बाँडफाडका क्रममा वडा अध्यक्षले प्रत्येक वडाको लागि २ करोड मागे पनि गाउँपालिकामा बजेट अभावका कारण १ करोड १० लाख उपलब्ध गराउने बताएपछि असहमती जनाउँदै आफू विरुद्ध लागेको बताए । केवटले गाउँपालिका स्तर बाट प्रत्येक वडामा बाटो कालोपत्रको लागी ४० लाख, भवन, वडा कार्यालय लगायत अन्य पुर्वाधार निर्माणको लागि बजेट छुट्याएको जानकारी दिए ।

केवटले भने मैले अनियमितता गरेको कुरा उपभोक्ता समिति, गाउँका जनता लगायतलाई सोध्नुस् छानविन गर्नोस् यदि मैले केही गलत गरेको छु भने त्यही अनुसार कारवाही भोग्न तयार छु ।

केवटले आफूमाथि लागेको अघिल्लो आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको समेत हिसाब किताब नदिएको आरोपको खण्डन गर्दै अहिले सम्म गाउँपालिकामा आफू आएपछि ४ वटा प्रशासकिय अधिकृत आएर गएको तथा लेखा अधिकृत समायोजन हुँदा सरुवा भएको कारण गाउँपालिकामा कर्मचारी अभाव हुदा हिसाब किताब हुन नसेको बताए ।

केवटले गत असारमा मात्र प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत आएको हुनाले पुरानो हिसाब किताब नभएको जानकारी दिए ।

९ वटा वडा रहेको गाउँपालिकामा ७ वटा वडा अध्यक्ष केवटको बिरोधमा रहेका छन् । संघिय समाजवादी फोरमबाट निर्वाचित केवटका पक्षमा उनकै पार्टीका वडा अध्यक्ष समेत छैनन् । तीन जना मध्ये एक जना विपक्षमा रहेका छन् ।

पत्रकार सम्मेलनमा वडा अध्यक्षहरु भुवनवहादुर राना मगर, प्रदीपकुमार चौधरी, सुरेन्द्रसिंह कुर्मी, तुलवहादुर पुनलगायतले गाउँपालिका अध्यक्षले मनोमानी गरेको आरोप लगाएका थिए । कार्यक्रममा नेकपा र कांग्रेसका प्रतिनीधिहरुले समेत अध्यक्षबाट भएका काम सन्तोषजनक नरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित