काठमाडौं, ४ साउन । गत आवमा कुनै दिन यस्तो रहेन, भ्रष्टाचारका मुद्दा अदालतमा दर्ता नभएको होस् । अख्तियारले स्थापनाको २९ वर्ष अवधिमा गत आवमा सर्वाधिक मुद्दा दर्ता गरी इतिहासै रचेको छ ।
पछिल्लो वर्ष ३ सय ५१ मुद्दा विशेष अदालतमा दर्ता भए। औसतमा प्रतिकार्य दिन १.१९ वटा मुद्दा विशेषमा दर्ता गरिएको अख्तियारको प्रगति विवरणले देखाएको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।
अख्तियार कार्यालय एक वर्षमा २ सय ९४ दिन खुल्यो। २०७५/७६ मा प्रत्येक दिन कम्तीमा एक मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले बताए। उनका अनुसार २०४७ मा आयोग स्थापना भएयता यो सबैभन्दा बढी मुद्दा दर्ता हो ।
मुद्दा संख्यात्मक मात्र नभई गुणात्मक रूपमा वृद्धि भएको दाबी उनले गरे। भ्रष्टाचारका सम्भाव्य सबै क्षेत्रलाई अनुसन्धानको दायरामा ल्याइएको उनले बताए। सार्वजनिक निर्माण, खरिद, परामर्श, सेवाप्रवाह, राजस्व, सार्वजनिक/सरकारी जग्गासम्बन्धी विविध क्षेत्रका मुद्दा दर्ता भएका छन् ।
अख्तियारकै आयुक्त राजनारायण पाठकदेखि अदालतका कर्मचारीसम्म, निर्माण व्यवसायीदेखि जग्गा कारोबारी, तत्कालीन सांसददेखि पूर्वमन्त्रीसमम र संघीयदेखि स्थानीय तहसम्मका भ्रष्टाचारमा संलग्न पदाधिकारी र कर्मचारीलाई अख्तियारले तानेको छ। १ हजार ५ सयदेखि २ अर्ब १६ करोड १७ लाखसम्म बिगो मागदाबीसहितका मुद्दा दायर भए ।
सबैभन्दा बढी सिक्टा सिँचाइ आयोजना भ्रष्टाचारमा २ अर्ब १६ करोड, बर्दियास्थित जब्दी खोला पुल भ्रष्टाचारमा १९ करोड ३२ लाख बिगो मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ ।
अकुत सम्पत्ति आर्जनमा नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध १८ करोड ६३ लाख, विमानस्थल भन्सार कार्यालयका रेडियो अप्रेटर श्यामकष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख बिगोसहित मुद्दा चलाइयो ।
अख्तियारले घूसका १४७, झुटा शैक्षिक प्रमाणपत्रका ८९, सार्वजनिक सम्पत्ति हानिनोक्सानीका ३७, गैरकानुनी सम्पत्ति (अकुत) आर्जनका १२, गैरकानुनी लाभ वा हानिका ३३, राजस्व चुहावटका ९ तथा विविधका २४ मुद्दा विशेषमा दर्ता ग-यो ।















प्रतिक्रिया