६ कार्तिक २०८३, शुक्रबार

अब पाइपलाइनबाटै अमलेखगन्जमा डिजेल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अब सिधै पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ । बीचमा कुनै प्राविधिक समस्या नआए बिहीबार मध्यराति नै पेट्रोलियम पदार्थ नेपाल आइसकेको हुनेछ । राजधानी दैनिकले समाचार छापेकाे छ ।

नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक मोतिहारीबाट डिजेल पठाइएको हो । सो पेट्रोलियम पदार्थ अमलेखगन्ज डिपोमा खस्ने व्यवस्था मिलाइएको छ ।

अमलेखगन्जबाट डिजेल पठाउनुअघि परीक्षणका लागि पानी पठाइएको थियो । पानीको सफल परीक्षण भएकाले पाइपलाइनमार्फत डिजेल पठाइएको हो ।

मोतिहारीबाट पम्पिङ गरिएको डिजेलको अघिल्लो भागमा पानी रहेको छ । सो तेल अमलेखगन्जमा आइसकेपछि प्रशोधन गरिनेछ । पानी र तेल छुट्टाएपछि डिपोमा राखिनेछ । यसका लागि चारवटा ट्यांकीलाई तयारी अवस्थामा राखिएको छ । सो पाइपलाइनको औपचारिक उद्घाटन भने हुन बाँकी छ ।

सन् २००४ मा नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सम्झौता भएको थियो ।

सो परियोजना २०७२ भदौमा मात्र अघि बढेको थियो । २०७४ पुसमा भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थालेको थियो । असारमा मात्र पाइपलाइन निर्माण सम्पन्न भएको हो ।

पाइपलाइनको दूरी ६९.२ किलोमिटर छ । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ ।

नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार ३६ लाख लिटर तेल मौज्दात रहन सक्ने गरी पाइपलाइन निर्माण गरिएको हो ।

पाइपलाइनबाट तत्काल प्रतिघण्टा २ लाख लिटर डिजेल आयात गर्न सकिनेछ । सो तेललाई अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने भएको छ ।

तत्काललाई पाइपलाइनमार्फत डिजेल मात्र पठाइने भएको छ । अमलेखगन्ज डिपोमा पेट्रोल राख्न ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजेल मात्रै आयात गरिने भएको हो ।

पाइपलाइन सञ्चालनपछि ढुवानी शुल्कसमेत घट्नेछ । साथै ट्यांकरबाट हुने डिजेल चोरी रोकिनुका साथै ढुवानीसमेत सस्तो हुनेछ ।

पाइपलाइन र डिपो सुदृढीकरणमा हालसम्म आईओसीले ५ अर्ब १८ करोड ४० लाख नेपाली रुपैयाँ खर्च गरेको छ । भारत र नेपालका प्रधानमन्त्रीस्तरबाट पाइपलाइनको उद्घाटन गर्ने तयारी भएकाले सबै लगानी नेपाल–भारत सहयोगअन्तर्गत समेटिन सक्ने निगम स्रोतले बतायो ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बिहीबार रातिदेखि अमलेखगन्ज पाइपलाइनबाट डिजेल आए बताए पनि निरन्तर रूपमा १५ अगस्टपछि आउने भएको छ ।

प्रवक्ता गोइतले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत तेल आयात हुन थालेपछि वार्षिक २ अर्ब रुपैयाँ बचत हुने गोइतले बताए ।

उनले पेट्रोलियम पदार्थ आपूर्तिमा ढुवानी भाडा कम लाग्दा उपभोक्तालाई पनि केही राहत हुने बताए । प्रतिघण्टा १ लाख ७० हजार लिटर डिजेल पाइपलाइनबाट ल्याउन सक्ने निगमले जनाएको छ ।

अमलेखगन्जमा डिजेल भण्डारणका लागि निर्माण गर्न लागिएको चार भण्डारण केन्द्र निर्माण कार्य पनि सम्पन भइसकेको निगमले जनाएको छ । सो भण्डारण केन्द्रमा १६ हजार किलोलिटर डिजेज भण्डारण हुनेछ । यसअघि निगमसँग अमलेखगन्जमा १९ हजार ८ सय किलोलिटर तेल भण्डारण गर्न क्षमता थियो ।

निगमले जनाएअनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्दा निगमलाई प्रतिलिटर १ रुपैयाँ नाफा हुनेछ । पाइपलाइनबाट डिपोमा भण्डारण ढुवानी कटाएर प्रतिलिटर १ रुपैयाँ नाफा हुने भएको हो ।