बुटवल, ३ साउन । अज्ञात समूहले लुम्बिनी क्षेत्रमा बुद्धका मूर्ति तोडफोड गरेको छ । बुटवल–बेलहिया ६ लेन सडकअन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पाँचवटा मूर्ति बुधबार राति तोडफोड गरिएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।
नगरपालिकाले लुम्बिनी भ्रमण वर्ष प्रवर्द्धन गर्न २२ वटा मूर्ति स्थापना गरेको थियो। तीमध्ये शंकरनगर क्षेत्रका मूर्ति फुटाइएको छ। घटनाको अनुसन्धान गरी अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरोकारवालाले माग गरेका छन्।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीय महास्थिवीरले मूर्ति तोडफोड गर्नु अशान्तवादी चरित्र भएको बताए। ‘यो घटना निन्दनीय छ’, उनले भने, ‘अशान्ति चाहनेहरू यस्तो गतिविधिमा संलग्न छन्। घटनामा संलग्नलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ।’
राणा शासनयता बुद्धविरोधी गतिविधि भएको सम्भवतः यो पहिलो घटना हुन सक्ने जानकार बताउँछन्। २००१ सालमा बौद्ध धर्म प्रचार गरेको भन्दै सात भिक्षुलाई देशनिकाला गरिएको थियो। पछिल्लो घटनाले ती दिनको स्मरण गराएको भिक्षुको भनाइ छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यो घटना लज्जास्पद भएको बताए। यसले नकारात्मक सन्देश प्रवाह गर्ने चिन्ता उनले व्यक्त गरे।
बुद्धको मूर्ति कुन स्थानमा राख्ने/नराख्ने भनेर प्रश्नसमेत उब्जिएको उनको भनाइ छ। ‘बाटो–बाटोमा बुद्धका मूर्ति राख्नु कत्तिको उचित छ ? ’, उनले भने, ‘यसको सुरक्षा दिन सकिन्छ कि सकिँदैन भन्ने कुरा महत्वपूर्ण भएको छ।’ बुद्ध कुनै धर्मका नभई साझा हुन् भन्ने शिक्षा दिन नसकेका कारण पनि घटना भएको हुन सक्ने उनको ठम्याइ छ।















प्रतिक्रिया