काठमाडौं, २ साउन । बाढीप्रभावित जिल्लामा महामारीको उच्च जोखिम देखिएको छ । पानीको सतह माथि आएपछि दूषित पानीसँगै ती जिल्लामा महामारीको उच्च जोखिम देखिएको हो । राजधानी दैनिकले खबर छापेकाे छ ।
मुख्यतः झाडापखाला, टाइफाइड, मलेरिया, डेंगु आउँलगायतका रोगको जोखिम बढ्न सक्ने चिकित्सक बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीप्रभावित तीन स्थानमा चिकित्सकसहितको टोली पठाएको छ ।
तीन–तीन जना रहेको सो टोली बाढीप्रभावित सबै जिल्लामा पुगेको मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख चूडामणि भण्डारीले बताए ।
पथलैयामा रहेको टोलीले बारा, पर्सा र रौतहट, बर्दिबासमा रहेको टोलीले सर्लाही, महोत्तरी र धनुषा तथा लहानमा रहेको टोलीले सिरहा र सप्तरीका प्रभावितलाई सेवा दिइरहेको छ ।
सो टोलीले जिल्लामा रहेको विपद् व्यवस्थापन समितिको सहजीकरण र समन्वयमा काम अघि बढाइरहेको छ ।
केन्द्रका प्रमुख भण्डारीले भने, ‘मुख्यतः सो क्षेत्रमा पानीको समस्या छ, स्थानीयको मागनुसार आवश्यक प¥यो भने केन्द्रीय अस्पतालका चिकित्सकसहितको टिम तयारी अवस्थामा छ, हामीले प्रदेश सरकारसँग समन्वय गरेर काम अघि बढाइरहेका छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि ११ जना सम्पर्क व्यक्ति तोकेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘औषधि र स्वास्थ्यकर्मीसहितको टोली प्रभावित जिल्लामा छन्, मुख्यतः पानीबाट लाग्ने रोगले जोखिम ल्याउने भन्दै जनचेतना फैलाउने काम पनि भइरहेको छ ।’















प्रतिक्रिया