
काठमाडौं, ३१ असार । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका विरोधी भेनेजुएलाका राष्ट्रपति निकोलश मडुरोका छोरा निकोलस अर्नेस्टो मडुरो गुयरालाई भेटेका छन् ।
मडुरो अमेरिका विरोधी हुन् । भेनेजुएलाको संकटग्रस्त राजनीतिका समयमा मडुरोविरुद्ध हुवा गुइदोले राष्ट्रपतिको घोषणा गरेपछि अमेरिकालगायतका दक्षिण अमेरिकी अन्य मुलुकले पनि समर्थन गरेका थिए । तर, अमेरिकाविरुद्ध प्रचण्डले विज्ञप्ति जारी गरेपछि नेपालमा पनि तरङ्ग उत्पन्न भएको थियो ।
प्रचण्डले उनै मडुरोका छोरालाई खुमलटारमा भेट दिएका हुन् । १० माघमा प्रचण्डले जारी गरेको उक्त विज्ञप्तिका विषयमा नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग धारणा माग गरेको थियो ।
मडुरोका छोरा गुयरा नेपालमा भएको युवा सम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन आएका थिए ।
अमेरिकाविरोधी गुयारालाई नेकपाको एकीकृत युवा संगठनका संयोजक रामप्रसाद सापकोटाले खुमलटारमा छिराएका हुन् । सो क्रममा प्रचण्डले भेनेजुएलाको आन्तरिक राजनीतिमा मडुरो संविधानसम्मत भएको भन्दै समर्थन रहने बताएका थिए ।
सापकोटाले गुयरालाई नेपालका अन्य नेतालाई भेटाउने तयारी पनि गरेका थिए । जुन सफल हुन सकेन । गुयरा भेनेजुएलाको कम्युनिस्ट पार्टीको युवा दस्ताका महासचिव भएका कारण सापकोटाले सहजीकरण र व्यवस्थापनको जिम्मा लिएको बताइएको छ ।
सो क्रममा मडुरोका पक्षमा प्रचण्डले विज्ञप्ति जारी गरेको भन्दै गुयराले धन्यवाद दिँदै विश्वका कम्युनिस्ट मुलुकले साथ दिनुपर्ने बताएका थिए ।
यसैबीच गुयराले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नका लागि समय माग गरेका थिए । कुटनीतिक विवादमा आउन सकिने भएका कारण प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले उनलाई समय दिएनन् ।
तर गुयराले नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मालगायतसँग भने भेट गरेका छन् । गुयरा चीन हुँदै उत्तर कोरिया जाने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच, नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलगायतका सत्तारुढ नेताले गुयरालाई भेटेर भेनेजुएलाका पक्षमा दिएको अभिव्यक्तिप्रति चासो देखाउने आँकलन गरिएको छ ।















प्रतिक्रिया