आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

विप्लवलाई सत्तारुढ नेकपा छिराउने प्रयासहरू कहाँ–कहाँ हुँदैछन् ?

दैनिक नेपाल २०७६ असार ३१ गते १२:१६

काठमाडौं, ३१ असार । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सत्तारुढ नेकपाका दुई पिल्लरमा घनिभूत प्रयास भइरहेका स्रोतहरूले दाबी गरेका छन् ।

वार्ता प्रक्रियामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याउँदै त्यसको केही दिनमा सत्तारुढ नेकपामा विलय गराउन नेकपाका दुई पिल्लरका फरक–फरक सक्रियता जारी रहेको बताइएको छ ।

विप्लव समूहका स्थायी कमिटी सदस्यसहितको टोलीसँग सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेको कुराकानी केही दिन अघि भएको थियो । पाण्डेले विप्लव समूहसँग चरणबद्ध कुराकानी जारी रहेको विवरण सार्वजनिक गरिसकेका छन् । तर, कोसँग कुराकानी भएको भन्नेबारेमाचाहिँ उनले खुलाएका छैनन् ।

यता सोमबारमात्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा स्थायी कमिटीकै सदस्यसँग नेकपा प्रवेशबारे वार्ता भएको बताइएको छ । खुमलटार स्रोतका अनुसार २ घन्टा भन्दा लामो समयसम्म वार्ता र त्यसपछिको राजनीतिक सहभागीता कसरी गर्ने भन्ने सन्दर्भमा प्रचण्डसँग कुराकानी भएको थियो ।

प्रचण्डले केही साता अघि मात्र विप्लव नेकपामा आउने दाबी गरेका थिए । उनले अहिलेको अवस्थामा हतियारको राजनीतिले समाजवादको यात्रा तय नहुने, परिस्थितिजन्य क्रान्तिबाट राजनीतिक दिशा तय हुने बताउँदै विप्लवलाई वार्तामा आउन आह्वान समेत गरेका थिए ।

त्यसो त प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि विप्लवसँगको वार्ता प्रक्रियामा विशेष दूत खटाएका छन् । नेकपा महासचिव विष्णु पौडेलले उक्त काम गरिरहेका छन् । केही दिन अघिमात्र नख्खु कारागारमा रहेका विप्लव समूहका स्थायी कमिटी सदस्य तथा वरियतामा तेस्रो तहका नेता हेमन्तप्रकाश ओलीसँग पौडेलको वार्ता भएको थियो ।

हतियारको राजनीति छाडेर शान्तिपूर्ण वार्तामा आए विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरी पक्राउ गरिएका कार्यकर्ता रिहा गर्न सरकार राजी हुने ओलीको सन्देश बोकेर पौडेल त्यहाँ पुगेका थिए ।

यता विप्लव समूहले भने प्रहरीद्वारा मारिएका प्रत्येक नेता कार्यकर्तालाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति सरकारले दिनुपर्ने, तिनका परिवारलाई रोजगारी दिनुपर्ने र राजनीतिक स्पेश खाली गर्नुपर्ने सर्त अघि सारेको स्रोतको दाबी छ ।

सो समूहले पार्टीको नीतिअनुसार वर्तमान संसद भंग गर्नुपर्नेलगायतका सर्त पनि अघि सारेको छ । तर, कम्युनिस्टको दुई तिहाईको मत भएका बेला संसद  भंग गर्नुको साटो त्यहाँ कसरी विप्लव समूहका नेतालाई अटाउन सकिन्छ भन्ने विषयमा बालुवाटार र खुमलटार टावर विचरणमा लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित