शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

पहाडी चट्टानमा अनाैठाे बस्ती

दैनिक नेपाल २०७६ असार ३१ गते ७:०५

लण्डन । ओमानको पहाडी चट्टानमा पछिल्लो पाँच सय वर्षभन्दा बढी समयदेखि एउटा दुरदराज इलाकामा एउटा जनजाति समूहले जीवन बिताइरहेको छ ।

ओमानको मस्कटको बलुवा तटबाट १९५ किलोमिटर दक्षिण–पश्चिममा ओमानको मैदानी इलाका चुनढुंगाको एउटा अग्लो चट्टानसँग जोडिन्छ । २९८० मिटर अग्लो यो पहाड जबाल–अल–अखदार हरियो पहाड (ग्रिन माउन्टेन) का रुपमा चिनिन्छ ।

घुमाउरो घाँटी र गहिरा खोँचहरु भएको यो देशको एउटा सूदुर क्षेत्रमा रहेको कुनो हो । सडक सकिएपछि अघि बढ्न पैदल, खच्चर या अल टेरेन सवारीबाट आउन सकिन्छ । २० किलोमिटरको घुमाउरो, कच्ची र खाल्डाखुल्डी परेको बाटो अघि बढेपछि एउटा पहाडको काखमा करिब करिब हावामा भुन्डिएजस्ता घरको एउटा सानो समूह देखिन्छ ।

यही ठाउँ हो, अल सोगारा । यो यस्तो दूरदराजको गाउँ हो, जुन पहाड काटेर बनाइएको छ र यहाँका मानिसहरु पछिल्लो पाँच सय वर्षभन्दा लामो समयदेखि यहाँ बसिरहेका छन् ।

अहिले यो ग्रिन माउन्टेनलाई ओमानको एउटा अद्भुत परिदृश्यको दर्जा दिइन्छ । तर जुनसुकै यात्री पनि अल सगार पुग्न सक्छन् । सन् २००५ सम्म यो पहाडी शृङखलामा विदेशीलाई प्रवेश गर्न प्रतिबन्धित थियो । किनकि यहाँ ओमान सरकारको सैन्य टुकडी थियो ।

हालका दिनमा यो सानो गाउँमा जानका लागि आफ्नो सवारी साधनलाई ढुंगैढुंगाको बाटोको अन्त्यमा छाड्नुपर्छ र फेरि खाल्डखुल्डी भएको बाटोबाट माथि ढुंगाका सिढीहरु करिब २० मिनेटजति उकालो चढ्नुपर्छ ।

यो क्षेत्रमा यस्ता एकान्तमा रहेका केही गाउँ छन् । तर, अल सोगारी चाँहि यस्तो स्थान हो, जहाँ अहिले पनि मानव बस्ती छन् । मुख्य पहाडी सहर सेह कतानाबाट करिब ४० किलामिटरको दुरीमा रहेको अल सोगारा यो क्षेत्रको सबैभन्दा एक्लो गाउँ हो र पुरै ओमानमा सबैभन्दा सुदूर क्षेत्रमा बसेको बस्ती मध्ये एक हो ।

१४ वर्षअघिसम्म अल सोगारामा बिजुली या फोन हुँदैन थियो । यसको सबैभन्दा नजिकको सडक १५ किलोमिटर टाढा थियो । परम्परागत रुपमा सामानको ओसारपसार नजिकै रहेको निजवा र बिरकत अल मुज सहरबाट खच्चरबाट गरिन्थ्यो ।

तर, सन् २००५ मा सो गाउँमा मानिसले ढुंगैढुंगाले बनेको सो क्षेत्रमा सामान्य खालको बाटो खोले, जसले गर्दा बस्तीबाट सडकसम्म सामान ढुवानीमा सहजता भयो ।

स्थानीय बासिन्दालाई सो स्थानमा ४५ जनाभन्दा बढी जनसंख्या भएको याद छैन । अर्थात सो स्थानको जनसंख्या निकै न्युन छ । स्कुल नभएका कारण स्थानीयबासीको पुरानो पुस्ताले घरमा नै लेखपढ गर्न सिके । तर, सन् १९७० को दशकदेखि त्यहाँका बच्चाहरु १४ किलोमिटर टाढा रहेको सहर स्याकको स्कुलमा पढ्न जान थाले । स्कुल जानका लागि उनीहरुले अप्ठेरा सिढी ओर्लिएर अर्को बाटोतर्फ पैदल जानुपर्छ । जहाँबाट एउटा कारले त्यहाँका बच्चाहरुलाई स्कुलसम्म छोड्थ्यो ।

अल सोगारामा आफ्नो पुरै जीवन बिताएका छात्र मोहम्मद नासेर अलशरीकी भन्छन्, ‘हामी यहाँ बस्छौं र यो स्थानको माया छ । मानिस फरक हुन्छन् र उनीहरुलाई आफ्नो मातृभूमि प्यारो लाग्छ ।’

यो पहाडी क्षेत्रमा शरीकी जनजातिका पाँच परिवार बस्छन् । यो समूह जोर्डनबाट करिब १००० वर्ष पहिले यहाँ आएर बस्न थालेको हो । यसै स्थानमा पढेका र हुर्किएका सलेम अलशरीकीका अनुसार यतिबेला यो गाउँको जनसंख्या २५ मात्रै छ । गाउँ सानो छ, त्यसकारण बस्नेहरु पनि कम छन् । सलेम र अरु बासिन्दाका अनुसार सबै गाउँदेहरु अल सोगारामा ५ सय वर्षभन्दा लामो समयअघि आएका पूर्वजका सन्तान हुन् ।

यति लामो समय र धेरै पीढिपछि पनि अलशरीकी सम्ुदायले प्राचीन पद्धतिबाट घर बनाउने कलालाई बचाएर राखेका छन् । जसमा या त ढुंगा या चिप्लो माटो प्रयोग गरिएको हुन्छ वा ढुंगा काटेर पनि बनाइएको हुन्छ ।

सलेम भन्छन्, ‘हाम्रा पूर्वजले यहाँ आएर बाहिरबाट भित्रको अरु पर्खाल बनाए र पहाडमा नै बसे । भित्रबाट हाम्रो घर गुफाजस्तो छ । यदि पर्खाल नहुने हो भने पहाडमा गुफा नै देखिन्छ ।’

समुद्रको किनारबाट २ हजार ७ सय मीटरको उचाईमा रहेको अल सोगारा ओमानको ती निश्चित क्षेत्रमा पर्छ जहाँ नियमित हिमपात हुन्छ । यस विषयमा मोहम्मद नासेल अलशरीकी भन्छन्, ‘यहाँ धेरै भीषण चिसो पनि हुन्छ । हामी चुन ढुंगा र चिप्लो माटोले आफ्नो घर बनाउँछौं । जसबाट ग्रीन माउन्टेनमा हुने चिसोबाट बचाउन सकियोस र गर्मीमा पनि राहत होस् ।’

स्थानीयबासीका अनुसार उनीहरुका पूर्वजले त्यहाँका सीमित स्रोत साधनको प्रयोग गरेर पहाडमा आफ्ना आवास तयार गरेका थिए । जसमा ढुंगालाई धुलो पारेर पानीमा मिलाएर चिप्लो माटोको पर्खाल बनाए र फेरि चुन ढुंगा काटेर ढुंगामा नै कोठा तयार गरेका थिए ।

स्थानीयबासीले केबल पहाड काटेर आफ्नो घर बनाउँछन् । तर यिनै घरमा पशुपालन समेत गर्छन् । केही शताब्दीदेखि अल सोगाराका परिवारले घरपालुवा जनावरलाई जंगली जनावरबाट बचाउन गुफाको मुख थुन्ने गर्छन् ।

अलशकीरी जनताजतिको अरु क्षेत्रका मानिसहरुको जस्तै पशुको अर्थ समृद्धि हो । जुन व्यक्तिसँग जति धेरै बाख्रा, भेडा र खच्चर हुन्छ, त्यो त्यति नै सम्पन्न मानिन्छ । मोहम्मख नासेर भन्छन्, पशुपालनसँगै उनीहरु खेति पनि गर्छन् । अनार, खजुर, नाशपानी, आरु, बदाम, लसुन, प्याज, र अन्य सब्जीहरु उत्पादन गर्छन् ।

ओमान र अरब क्षेत्रका अन्य देशका जनताहरुजस्तै अल सोगाराका जनजाति पनि पाहुनाको स्वागत सत्कार गर्छन् र पाहुनालाई दिनभर नै खाने पिउने व्यवस्था मिलाउँछन् । त्यसपछि बल्ल आफ्नो गाउँघरको भ्रमण गर्नुका कारण सोध्छन् ।

ओमानको दूरदराजका क्षेत्रमा जिन्दगी चलाउनेमध्ये एक प्राचीन आदिवासी मध्ये एक उनीहरुले सिंचाईको कुशल प्रणालीको विकास गरेका छन् । जसलाई ‘अफ्लाज’ भनिन्छ । यसमा पानीलाई गुरुत्वाकर्षण शक्तिको सहायताले भूमिगत स्रोतबाट उठाएर सिंचाई गरिन्छ ।

५ सय ईस्वी संवतबाट प्रयोगमा ल्याइएका नहरको कुनै समयमा यति महत्व थियो कि यसको रक्षाका लागि ठाउँठाउँमा विभिन्न संरचना बनाइएको छ । अल सोगारासहित आज पुरै ओमानमा यस प्रकारका करिब ३००० नहर छन् ।

जहाँ भूमिगत स्रोतबाट ‘अफ्लाज’ का माध्यमबाट पानी उपलब्ध गराइन्छ । तर जलवायु परिवर्तनका कारण २० देखि ५० किलोमिटर लामो केही सिंचाई मार्गमा अब पहिलेजस्तो पानीका प्रवाह हुन छाडेको छ । ग्रिन माउन्टेन पनि अब धुलो र बालुवा पत्थर बन्दैछ । मोहम्मद नासेर सम्झिन्छन्, यी नहर सयौं वर्ष पहिले यहाँ रहने स्थानीयले बनाएका थिए ।

हरेक दुई परिवारले एउटा नहर प्रयोग गर्दथ्यो र आफ्नो भागको पानी चलाउँथ्यो । यो भागबन्डा नहर बनाउनका लागि गरेको श्रमदानका आधारमा तय हुन्थ्यो । तर अब पानी कम हुनुका साथसाथै स्थानीयको उत्पादन पनि कम हुन थालेको छ ।

पछिल्ला दिनमा अल सोगारामा उपलब्ध कामको कमीका कारण यहाँका धेरैजसो सर्वसाधारण कामको खोजीमा मस्कट र निजवाजस्ता स्थानतर्फ गएका छन् । यसका कारण ओमानको सुदुर भागमा रहेको यो चट्टानको बस्ती पनि खतरामा परेको छ । केही गाउँलेहरु कुनै समय हराभरा रहेको यो पहाडको गाउँभन्दा टाढा गइसकेका छन् । तर यहाँ बाँकी रहेका मानिसहरु दिनप्रतिदिन उठेर बाख्रा चराउने, खजुरको रुखबाट खजुर टिप्ने, पानी लैजानका लागि ‘अफ्लाज’ सम्म जाने काम गरिरहेका छन् ।

मोहम्मद नासेर भन्छन्, ‘भविष्य सधैं वर्तमानमा निर्भर गर्छ । यदि हामीले यो स्थानको ध्यान राख्न सक्यौं भने हाम्रो आगामी पुस्ता या हाम्रा नाति पनाति यही गर्नेछन् । तर यदि हामीले यी घरलाई ध्यान दिएनौं, हेरचाह गरेनौं भने आगामी पुस्ताले यो देख्न पाउने छैनन् । अबको १५ वर्षभित्र यी घरहरु नष्ट हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित