
काठमाडौँ, २८ असार । चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रका महिलाको हातमा सीप पुर्याउने उद्देश्यले एक हजार महिलालाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको छ ।
नगरपालिकाको महिला तथा दलित लक्षित कार्यक्रमअन्र्तगत नगर र वडास्तरीय गरी दुई चरणमा महिलालाई सीपमूलक तालिम प्रदान गरेको नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलाले जानकारी दिनुभयो ।
नगरपालिकाले ६४ लाई ४५ दिने मन्टेश्वरी तालीम, १०६ लाई एकमहीने मोटर तथा स्कुटर तालीम र १०३ जनालाई तीनमहिने ब्यूटीसियन तालिम दिएको उहाँले बताउनुभयो ।
त्यसैगरी नगरपालिकाले नौ वटै वडाका लागि दलित र महिला लक्षित कार्यक्रमका लागि रु ८०/८० हजार विनियोजन गरी थप तालिम दिएको छ ।
वडास्तरबाट ३५० र दलित लक्षित कार्यक्रममा ३७५ लाई कुशनको सामग्री बनाउने, काष्ठकलाका सामान बनाउने तालीम, झोल साबुन बनाउने र ब्यूटीसियन तालीम प्रदान गरिएको छ ।
तालीमप्राप्त महिलालाई आज नगरप्रमुख सोमप्रसाद मिश्रले तालीमको समापन गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो । –रासस












प्रतिक्रिया