१७ कार्तिक २०८३, मंगलबार

उपराष्ट्रपतिद्धारा बाढीपहिराले गरेकाे मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असार । उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ले अविरल वर्षाले देशका विभिन्न भागमा भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

वक्तव्यमा भनिएकाे छ, “केहीं दिनदेखि परिरहेको भिषण वर्षाका कारण काठमाडौं उपत्यका, तराई–मधेस लगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित भएको छु । बाढी, पहिरो तथा डुबानबाट दर्जनौँ मानिसको मृत्यु, धेरैजना बेपत्ता र घाइते हुनुका साथै हजारौँ नागरिक विस्थापित तथा यातायात अवरुद्ध हुँदा लाखौं नागरिकको जनजीवन प्रभावित हुनु ज्यादै दुःखको कुरा हो । बाढी, पहिरो तथा डुबानमा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

राष्ट्रले ठूलो प्राकृतिक प्रकोप भोगिरहेको समयमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी बाढी, डुबान र पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, पीडितहरुको यथाशीघ्र उद्धार र राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदछु । बाढी पहिरोबाट विस्थापितहरुका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको राम्रो प्रवन्ध गर्नसमेत ध्यानाकर्षण गराउँदछु ।

एक नेपालीको दुःखमा अर्को नेपालीले सघाउने नेपालीहरुको गौरवपूर्ण संस्कार हो । बाढी, डुबान र पहिरो पीडितहरुको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न संघ संस्था, आम नेपाली जनता र विशेष गरी युवापंक्तिहरुलाई अपील गर्दछु । साथै, बाढी, डुबान र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र पूर्व तयारी अपनाउन सबै देशबासीलाई आग्रह गर्दछु ।”