सोमबार, ६ साउन २०७६
DainikNepal.com
सोमबार, ६ साउन २०७६

तीनवटा प्रदेश बाढीपहिरोको चपेटामा

दैनिक नेपाल २०७६ असार २८ गते ६:५१

काठमाडौं, २९ असार । बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन्। प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेका छन्। प्रदेश राजधानी रहेको विराटनगर महानगरसहित बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको प्रमुख जिल्ला रमेशकुमार केसीले बताए।

उनका अनुसार सुकुम्बासी बस्तीका सबैजसो घरमा बाढी पसेर डुबान भएको छ। कटहरी–१, २, ३, ४ वडाका अधिकांश बस्ती जलमग्न रहेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए।

उनका अनुसार कटहरी र धनपालथानको सिमाना भएर बग्ने लोहन्द्रा खोलाको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेका छन्। बाढीले घरै बगाउन लागेको कटहरी–३ का उमेशकुमार साहले बताए। परिवारका सदस्य खुला ठाउँमा बसिरहेको उनले सुनाए।

सुनसरीको हरिनगर–५ बसन्तपुरका ३५ परिवार विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी प्रहरीले स्थानीय विद्यालयमा सुरक्षित राखेको छ। दुहबी नगरपालिकामा कोसी राजमार्गअन्तर्गत पर्ने बूढी खोलाको पुल कटानका कारण जोखिममा परेको छ।

पाँचथरका हिलीहाङ गाउँपालिका अमरपुरस्थित अस्थायी प्रहरी चौकी, मिक्लाजुङ–५ कुरुम्बाको एक घर पहिरोको जोखिममा परेका छन्। कुरुम्बामा शुक्रबार बिहान पहिरोले टीकाराम लावतीको घर चर्किएको वडाध्यक्ष अबिसन लावतीले बताए।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ खिजीफलाटे बजारमा वर्षाका कारण धनवीर तामाङको घर भत्किएको छ। वर्षात्का कारण सिद्धिचरण राजमार्गसहित सबै ग्रामीण सडक ठप्प छन्।

बिहीबार साँझदेखि सदरमुकामबाट गाउँ तथा अन्य जिल्लातर्फ जाने सवारी साधन चलेका छैनन्। मध्यपहाडी राजमार्ग दर्जनभन्दा बढी ठाउँमा अवरुद्ध छ। यात्रु अलपत्र परेका छन्।

उदयपुरको त्रियुगा नदीले केन्द्रीय प्रसारण लाइनको पोल तथा तार बगाएपछि विद्युत् अवरुद्ध भएको छ। ओखलढुंगा र खोटाङमा बिहीबार साँझबाट विद्युत् आपूर्ति भएको छैन।

धनकुटामा चार दिनयता लगातार परेको वर्षाले एक विद्यालय र ग्रामीण सडकमा क्षति पुगेको छ। सहिदभूमि–३ स्थित अजम्बरी प्राविको भवन भत्किँदा पठनपाठन रोकिएको छ।

सहिदभूमिकै मूलघाटबाट पोखरे जोड्ने सडकका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। ताप्लेजुङको तमोर र मैवा नदी किनारस्थित दोभान बजारका तीन घर पहिरोको जोखिममा परेका छन्। मेरिङ्देन–३ स्थित बजारका सुकवीर लिम्बूको पाली पहिरोले बगाएपछि परिवारलाई अन्यत्र सारिएको छ।

प्रतिक्रिया
सम्बन्धित