बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

कुमार पौडेलको परिवारले भन्छ : नियोजित हत्या हो, स्वतन्त्र छानबिन हुनुपर्छ

दैनिक नेपाल २०७६ असार २७ गते १६:२१


काठमाडौँ, २७ असार । प्रहरीसँगको दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ ।

शक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो । यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपुर्वक हत्या भएको परिवारको दाबी छ ।

घटनाको बारेमा बोल्दै मृतक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसँग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए ।

उनले आफ्ना दाईको राजनितिक जीवनको बारेमा स्वयम सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको बताए । ‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आइपुग्यो’, उनले भने ।

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउँदै उनले चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटोहरु आफूसँग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पारे । ‘हात भाँच्चिएको मानिसको त्यति नजिकै कसरी हतियार रहनसक्छ ?’ उनले भने ।

कार्यक्रममा बोल्दै मृतक पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमानलाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन् । छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

श्रीमानलाई कुनै दबाव वा असुरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्, ‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित