बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

काँग्रेसको केन्द्रिय समिति बैठक बस्दै, देउवाविरुद्ध कोइरालाको छुट्टै भेला

दैनिक नेपाल २०७६ असार २७ गते ११:४९

काठमाडाैँ, २७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालय बस्नेछ ।

गत आइतबार १४ वटा एजेन्डा प्रस्तुत मात्र गरेर रोकिएको बैठक आज पुनः बस्न लागेको हो । बैठकको प्रमुख एजेन्डा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४औँ महाधिवेशनको कार्यतालिका तोक्ने प्रक्रिया अघि बढाउने रहेको काँग्रेस नेताहरूले बताएका छन्।

यस्तै, बैठकमा विधानको व्यवस्थाअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण गर्ने, २०७६ वैशाख २५ देखि जेठ २५ सम्म सञ्चालन भएको पार्टीको राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन र नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक घटनामक्रम र सरकारको कार्यशैलीबारे पनि छलफल हुने जनाइएको छ ।

यसैबीच,  आज हुने बैठकका लागि रणनीति बनाउन सभापतिइतर पक्षको बैठक बिहीबार महामन्त्री डा‍‍. शशांक कोइरालाको निवासमा बसेको छ। उनीहरूले चाँडै महाधिवेशनमा जान सभापति शेरबहादुर देउवालाई दबाब दिने रणनीति बनाएका छन् ।

विधानअनुसार चार/चार वर्षमा हुने महाधिवेशन २०७६ फागुनमा हुनुपर्ने भए पनि सभापति देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने घोषणा गरेपछि उनी इतिरका नेताहरु अर्को महाधिवेशनको मिति तय गरेर त्यहीअनुसार कार्यतालिका पारित गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया
सम्बन्धित