बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

जनताको करबाट जनप्रतिनिधिहरूलाई रक्सी पार्टी

दैनिक नेपाल २०७६ असार २७ गते १०:३३

दमौली, २७ असार । तनहुँ जिल्लाको व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपानेसहितका जनप्रतिनिधिहरूले सरकारी पैसाबाट रक्सी पार्टी गरेको खुलासा भएको छ ।

सामाजिक सञ्जालमा रक्सी पार्टीको भिडियो भाईरल बनेपछि मेयर र उपमेयरसहित नगरसभा सदस्यहरूको आलोचना भएको छ । ३१औं नगरसभामा सहभागी भएका जनप्रतिनिधिहरूले रक्सी पिएर नाचगान गरेको भिडियोमा देखिएको छ ।

नगर प्रमुखसहित नगरसभा सदस्य रक्सी पिएर मातेपछि कम्मर मर्काई मर्काई नाचेका छन् । उनीहरूले पटक पटक थपेर रक्सी र बियरका साथ मासु खाएको भिडियोमा देखिएको छ ।

नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेका छन् ।
जनप्रतिनिधिहरूले वल्ड दरबार ह्विस्की, टुबोर्ग बियर, मासु, चिउरासहितका परिकार खाएका छन् ।

मेयर न्यौपानेले जनप्रतिनिधिहरूले रक्सी पिएर नाचगान गरेको विषयलाई सामान्य घटना भनेका छन् । न्यौपानेले नगरपालिकाको पैसाले रक्सी पार्टी नगरिएको दाबी गरेका छन् ।

तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सरकारी रकमबाट रक्सी सेवन गर्न नपाइने बताए । उनले जनताले तिरेको करबाट रक्सी पार्टी गरेको भए कारबाही हुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित