काठमाडौं, २७ असार । हेलिकप्टर उडाउने पाइलटको अभाव भएपछि सम्बन्धित वायुसेवा कम्पनीले नै पाइलट तालिम दिन थालेका छन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।
वायुसेवा कम्पनीमा पाइलट अभाव हुन नदिन, आफ्नो कम्पनी चलाउन आफैँले तालिम दिन थालेको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज शर्मा कँडेलले जानकारी दिए ।
उनका अनुसार वायुसेवा कम्पनी बढेको बढ्यै छन्, भएका पाइलट अवकाश पाउने, विस्थापित हुने र दुर्घटनाका कारण घटेकाले हेलिकप्टर उडानमा समस्या हुन थालेको छ ।
इन्जिनियरिङ र अन्य प्रशासनिक कर्मचारी अभाव नभए पनि पाइलट भने दक्ष, तालिम प्राप्त हुनुपर्ने र उत्पादन गर्न पनि समय लाग्ने हुन्छ । यसका निम्ति ५ वर्षसम्म सेवा गर्ने सर्तमा तालिममा पठाउन थालेको शर्माले बताए ।
एभरेस्ट हेलीका प्रमुख कार्यकारी अधिकृत रहेको कँडेलले हेलिकप्टरका निम्ति २ जनालाई तालिममा पठाएको र अर्को एक जना पठाउने तयारी गरिरहेको बताए । उनका अनुसार हाल ५ जना पाइलटको निम्ति तालिम तय भएको छ ।
सिम्रिक एयरले ३ जना क्यानडा पठाउने तयारी गर्दै छ भने हेली एभरेस्टले एक फिलिपिन्स र एक अमेरिका पठाइसकेको छ ।
अब एक जनालाई पाइलट अध्ययनमा पठाउने तयारी रहेको हेली एभरेस्टले जानकारी दिएको छ । अल्टिच्युड एयरले पनि एक जना पाइलट तालिमको निम्ति पठाउने तयारी गरेको सोसाइटीले जानकारी दिएको छ ।
पाइलट तालिम लिन चाहने व्यक्तिको विवरण संकलन गरेर पछिल्लो किस्ता वायुसेवा कम्पनीले तिरिदिने सर्तमा पठाइएको हो ।
कम्तीमा १७ देखि २० लाख रुपैयाँ वायुसेवाले दिने र पाइलटले तालिम सकेपछि सोही वायुसेवामा हेलिकप्टर उडाउनुपर्ने सर्त राखिएको छ । शर्माका अनुसार हेली एभरेस्टले रोजगारीको ग्यारेन्टी गर्ने र हेलिकप्टर उद्योगकै निम्ति नयाँ जनशक्ति तयार हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।