शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

प्रचण्डबाटै घेराबन्दीमा प्रधानमन्त्री ओली !

दैनिक नेपाल २०७६ असार २६ गते १५:२०

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका सहयात्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाटै घेराबन्दीमा परेको विवरणहरू सार्वजनिक हुन थालेका छन् ।

सो क्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी प्रचण्डनिवास खुमलटारमा भारतका विदेश मामला जानकार लिएर पुगेको पनि बताइएको छ ।

केही मिडियाले बालुवाटार स्रोतलाई उदृत गर्दै प्रधानमन्त्री ओलीलाई घेराबन्दी गर्न प्रचण्ड सक्रिय रहेको र सो क्रममा भारतीय कुटनीतिक मामिला जानकार तथा पूर्व विदेशमन्त्री श्यामशरणसँग गोप्य भेट भएको दाबी गरेका छन् ।

यो भेट प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउनका लागि भारतीय प्रशासनले गराएको पनि बताइएको छ । यसै कारण बारम्बार सरकार विविध विषयमा विवादमा तानिएको बताइन्छ ।

खासगरी पछिल्लो पटक भारतबाट आयातित विषादीयुक्त तरकारी परिक्षण फिर्ता लिने प्रकरणमा प्रचण्डको ठाडो निर्देशन मन्त्री मात्रीका यादवले कार्यान्वयनमा ल्याएपछि सरकार विवादमा फसेको थियो ।

जबकि, प्रधानमन्त्री ओलीले मन्त्री यादवको प्रस्तावका आधारमा नै क्याबिनेट बैठकबाट उक्त निर्णय कार्यान्वयनका लागि अनुमोदन गरिदिएका थिए ।

तरकारी प्रकरणमा भारतीय दूतावासले पत्र लेखेर नेपाल सरकारलाई नरोक्नका लागि आग्रह गरेको थियो । हतारमा मन्त्रिपरिषद्को बैठक राखी उक्त निर्णय फिर्ता लिन सरकार बाध्य भएको थियो ।

सो निर्णय फिर्ता लिँदा सरकार विवादमा आउने र त्यसको खास कारण के हो भनेर बुझ्नका लागि मंगलबार विहान प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेका थिए ।

स्रोतका अनुसार उक्त बैठकमा मन्त्री यादवसँग प्रधानमन्त्री ओलीले विवादमा आउने निर्णय किन गरेको भनी सोधेपछि यादवले आफू दबाबमा आएको जवाफ दिएर बीचैमा निस्किएका थिए ।

सो बैठकमा तरकारी प्रकरणका सम्बन्धित कृषि मन्त्री चक्रपाणि खनाल बलदेवलगायत भने उपस्थित थिएनन् । प्रधानमन्त्री ओलीले सो विषयमा पनि सोधेका थिए ।

पूर्वमाओवादीका मन्त्रीका कारण प्रधानमन्त्री संकटमा

मन्त्रिपरिषदको अध्यक्ष भए पनि प्रधानमन्त्री ओलीको प्रस्ताव भन्दा खुमलटारका आदेशलाई पूर्वमाओवादी मन्त्रीका तर्फबाट मानिदिने र त्यस्ता विवादीत प्रस्ताव ल्याउने गरेका कारण प्रधानमन्त्री ओली संकटमा परेका छन् ।

पूर्वमाओवादीको हिस्सामा परेका गृह, उद्योग तथा वाणिज्य, कृषि, शिक्षा, खानेपानीलगायतका मन्त्रालयले नै प्रधानमन्त्री ओली आलोचित हुने प्रस्ताव र निर्णय गराउँदै आइरहेको बताइन्छ ।

ओली सरकारको गृहमा रामबहादुर थापा, वाणिज्यमा यादव, कृषिमा बलदेव, शिक्षामा गिरिराजमणि पोखरेल र खानेपानी मन्त्रालयमा प्रचण्डकी बुहारी बिना मगर मन्त्री छन् । नेकपा विप्लव समूहलाई प्रतिबन्ध गृहको प्रस्ताव थियो भने निर्मला पन्त लगायतका विभिन्न हत्याका विषयमा पनि सो मन्त्रालयले खासै काम गर्न सकेको छैन ।

लगानी सम्मेलनमा बेइज्जत गरेका उद्योग वाणिज्य मन्त्री यादवले तरकारी प्रकरणमा पनि कृषि मन्त्री बलदेवसँग मिलेर सरकारलाई आलोचित हुने निर्णय गरे । जसबारे आफूलाई केही जानकारी नभएको भन्दै प्रधानमन्त्री ओलीले स्पष्टीकरण दिएका छन् ।

‘मैले पछि मात्र थाहा पाएँ, मलाई गुमराहमा राखियो’, प्रधानमन्त्रीले बुधबार बेलुका जनतासँग प्रधानमन्त्री कार्यक्रममा भनेका थिए,‘कर्मचारी वा कहाँबाट यस्तो गल्ती भयो ।’

त्यसो त यस प्रकरणको जवाफ सिधा पूर्वएमालेले सम्हालेको मन्त्रीले नै दिनुपर्ने बलदेवले बताइसकेका छन् । उनले परराष्ट्र मन्त्रालय नै यसको जानकार हुनुपर्ने र जवाफ दिनुपर्ने बताएपछि ओलीलाई नियोजित घेराबन्दीमा पार्न खोजिएको संकेत मिलेको बालुवाटार स्रोतले जनायो ।

यता मेलम्ची आयोजना प्रकरणमा मन्त्री मगरले समयमा नै काम सकिने भनेर प्रधानमन्त्री ओलीलाई गलत ब्रिफिङ गरेकी थिइन् । जुन काम पुरा गर्नुको साटो इटालियन ठेकेदारलाई नेपालबाट धपाउने काम गरियो र यो विवादमा सरकारको आलोचना बढ्यो ।

सरकारलाई अप्ठ्यारो पारेको संकेतहरू

यसै पनि आफ्नैबाट सरकारलाई घेराबन्दीमा पारेर अप्ठ्यारो अवस्थामा पुराएको संकेत प्रधानमन्त्री ओलीका सचिवालयमा रहेका कतिपयले गरेका थिए । जस्तो, प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भनेका थिए,‘विदेशीसँग लसपस गरेर सरकारलाई घेराबन्दीमा पार्ने कोशीश र खेल भइरहेका छन् ।’

उता, प्रधानमन्त्री ओलीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि पूर्वमाओवादीका तर्फबाट यस्तो खेल भएको संकेत गर्दै व्यंग्यात्मक रूपमा ‘छौंडाहरू’ भन्ने अभिव्यक्ति दिएका थिए । जसको कडा आलोचना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित