
-प्रतिक पौडेल
भैरहवा, २५ असार । रुपन्देही सदरमुकाम भैरहवाको मुख्य बजार बैंकरोडको सुन पसलमा चोरी भएको छ । चार महिना अघि पनि यही बजारमा सुनपसल चोरी भएको थियो ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयबाट २ सय मिटर नजिक र आर्मी क्याम्पबाट ५० मिटरको दुरीमा रहेको ए.आर. ज्वेलर्समा सटर फोरेर तिजौरी नै उठाएर चोरिएको हो । सुन लगायत महत्वपूर्ण गहनाहरु सेफमा राखिएकाले २० लाख बराबरको गहना चोरी भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नायब प्रहरी उपरिक्षक धर्मराज भण्डारीका अनुसार करिव १६ तोला सुन र १२ तोला चाँदी सहित सेफ पनि लगिएको छ । भण्डारीले कति बजे चोरी भएको भन्ने अझै अन्योल रहेको बताएका छन् ।

बजारमा यसरी पसलहरु चोरी हुन थालेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । यस अघि भैरहवाका मुख्य बजारकै मोबाइल पसल र सुन पसल चोरी भएको छ । करिव चार महिना अघि भैरहवाकै वि.के ज्वेलर्समा चोरी भएको थियो । यसरी चोरी हुँदा पनि चोरहरु पत्ता नलागेको भन्दै व्यवसायीहरु प्रहरीप्रति रुष्ट भइरहेको अवस्थामा फेरी सबैलाई चक्मा दिने गरी चोरी भएपछि प्रहरीप्रतिको आशा र विश्वास अझ मरेको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायीहरुले बुधवार दवाव स्वरुप भैरहवा छेत्रको सबै पसल बन्द गरेका छन् । सुनचाँदीका गरगहना चोरीको बिरोधमा प्रदेश सभा सदस्य सन्तोष पाण्डेले व्यवसायीले गरेको दवाव मुलक कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । उनले व्यवसायी हकहितको लागी हरेको ठाउमा साथ रहने बताएका छन् ।
नेपाल सुनचादी व्यवसायी संघ केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले भैरहवाको मुख्य बजार क्षेत्र त्यो पनि जिल्ला प्रहरी कार्यालय र आर्मी क्याम्प नजिकै रहेको बजारमा चोरी हुनु गम्भिर भएको बताए । उनले सुरक्षा निकाय यस बिषयमा गम्भिर नभए दवावमुलक कार्यक्रम निरन्तर रुपमा गरि रहने जानकारी दिए ।

सिद्धार्थ उद्योग बाणिज्य संघले पनि घटनाको निन्दा गर्दै आपत्ति जनाएको छ । संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले भैरहवाको मुख्य बजारमा यसरी पटक पटक चोरी हुनु गम्भिर भएको बताउदै प्रशासन सुरक्षाको विषयमा गम्भिर हुनु पर्ने बताए ।
उधोग व्यापार संगठन रुपन्देहीले पनि घटनाको निन्दा गर्दै चोरी गर्ने गिरोह लाई पक्राउ गरि कानुनी कार्वाहीको माग गरेको छ । संगठन अध्यक्ष नारायण प्रसाद भण्डारीले समय–समयमा हुने यस्ता चोरी गर्ने गिरोह लाई पक्राउ गरि कानुनी कार्वाही गर्न र पिडितलाई राहत प्रदान गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनरोध गरे ।












प्रतिक्रिया