काठमाडौं, २४ असार । महानगरीय प्रहरी परिसर ललितपुरले एक पीडित महिलालाई अझ पीडित हुनेगरी ज्यादतीपूर्ण व्यवाहार देखाएको छ ।
ललितपुरको नखिपोट बस्ने दाङ तुलसीपुर–५ की ३४ बर्षिया कान्ति गिरीले आफूलाई ‘अपराधी लाभ (एक्सटर्सन) सम्बन्धी कसुर’ भएको भन्दै दिएको निवेदन परिसरले पीडकसँग मिलेर दर्ता नै लिएन । बरु, हप्तौसम्म अलमलमा राखी उल्टै पीडितविरुद्धको जाहेर आफू माथाहतको सातदोबाटो प्रहरी वृत्तमा दर्ता गर्न लगाएर परिसर हाताबाट गिरी र उनका पति रुपेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
गिरीले आफूलाई अनधिकृत रूपमा धम्की दिएर पटक–पटक गरी १६ लाख रूपैंया लगेका दम्पत्ती राजेश अवाले र प्रिती अवालेविरुद्ध एक्सटर्सन सम्बन्धी उजुरी दर्ता गराउन परिसर पुगेकी थिइन् ।

अवाले दम्पत्तीले धेरैलाई कम रकम ऋण सहयोग गर्ने र त्यसवापत धम्क्याएर लाखौं उठाउने गर्दै आएको बताइन्छ । यस्तै फन्दामा गिरी पनि परेकी थिइन् । शिक्षिकाको जागिर गर्ने र एउटा साधारण जुत्ता पसल गरेकी गिरीलाई प्रितीले तीन लाख ऋण सहयोग गरेकी थिइन् । त्यसको ब्याजसहित उक्त रकम गिरीले फिर्ता गरे पनि ‘नखिपोट’वासी भएका कारण दबाबमा गिरीसँग १६ लाख भन्दा ज्यादा नगद लगेकी थिइन् ।
‘पीडितलाई पटक–पटक गरेर रकम फिर्ता गरीसकेका अवाले दम्पत्तीले धम्क्याउने गरेपछि उनी पीडित बनेकी छन् । उनीविरुद्ध प्रहरी कारवाहीका लागि परिसर पुग्दा उजुरी लिएनन् बरु उल्टै अवालेसँग मिलेर पीडित बनाए’, स्रोतले भन्यो,‘उजुरीमा १६ लाख मात्र दाबी गरिए पनि २२ लाख भन्दा बढी रकम अवाले दम्पत्तीले लगिसकेका छन् । अन्य रकमका लागि पनि दबाब दिएर धम्की दिन थालेपछि आजित भएर पीडितले प्रहरीसँग गुहार मागेका थिए, उल्टै फँसाइयो ।’
१५ असारमा उजुरी लिएर गिरी परिसर पुगेकी थिइन् । तर परिसरले उक्त मुद्दामा उजुरी लिन नमिल्ने भन्दै फर्काएको थियो । पछि फेरि अवाले दम्पत्तीलाई बोलाएर छलफलमा समेत राख्यो । ‘यो दिन उ दिन उजुरी दर्ता गर्छौं भनेर कागजी खेलमा प्रहरीले खेलायो, पछि अवाले दम्पत्तीले खडा गरेको व्यक्तिको दुव्र्यबहारसम्बन्धी उजुरीका आधारमा निमेषभरमा पक्राउ गरेर हिरासतमा लियो ।’ पीडित गिरी र उनका पति श्रेष्ठलाई सातदोबाटो प्रहरीले हिरासतमा राखेको छ ।
सरकारी वकिलको कार्यालयले देवानी सहिँताको नियमअनुसार गिरीले दिएको उजुरी दर्ता गर्नुपर्ने भन्दै ललितपुर प्रहरी परिसरलाई परिपत्र पनि गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरको ३६०४ नम्बरको चलानी रहेको पत्र परिसरलाई पठाइएको छ । सक्कलै जाहेरी पठाइएको विषय उल्लेख गरिएको पत्रमा भनिएको छ,‘फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ उपदफा १ बमोजिम प्राप्त हुन आएको जाहेरी दरखास्त ऐन संहिता दफा ५ उपदफा २ को प्रयोजनार्थ पाना २ को जाहेरी दरखास्त जाहेरवालाको नागरिकताको प्रतिलिपि यसै पत्र साथ पठाइएको छ ।’

यो पत्र प्राप्त गरेको परिसरले केही दिन पीडितलाई अलमला राखेकै बेला सादा पोसाकमा आएका सातदोबाटो प्रहरी वृत्तका एक जना सिपाहीले पीडित गिरीसँग काम छ भनी पक्राउ गरी परिसर हाताबाटै लिएर गएका प्रत्यक्षदर्शीले बताए ।
पीडितलाई धम्क्याएर अवाले दम्पत्तीले पछिल्लो पटक ४६ लाखसम्मको चेक यसै लिएका थिए । छलफलका क्रममा एक साधारण शिक्षिकासँग किन यत्रो रकम लिएको भनी राजेश अवालेलाई प्रहरीले हप्काएको पनि थियो । तर, अवालेले उपल्लो तहको प्रहरी प्रशासन र राजनीतिक पहुँचका आधारमा गिरीलाई नै उल्टै फसाएका छन् । स्रोतले भन्यो,‘छलफलका क्रममा स्थानीय नेता समेत लिएर आएका उनीहरूले नमिठोगरी फँसाए ।’
ललितपुर प्रहरीबाट असहयोग भएपछि पीडित परिवारले उक्त उजुरी हेल्लो सरकार, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको सचिवालयमा पनि हालेका छन् ।
घटनाका सबै विवरण राखेर पीडितले न्यायका लागि अन्तिमसम्म पनि लडाँई लडिरहने भन्दै उजुरी दिएका हुन् । स्रोतले भन्यो,‘पहुँचका आधारमा लुट्ने मात्र हैन, मानसिक तनाव दिएर मर्नसम्म बाध्य पार्नेविरुद्ध यो अन्तिम अस्त्र हो ।’ अवाले दम्पत्तीको तनावका कारण पीडित गिरी आत्महत्या गर्ने निर्णयसम्म पुगेको बयान ललितपुर परिसरकै छलफलका क्रममा पनि बताएकी थिइन् ।















प्रतिक्रिया