बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

ललितपुरको भैंसेपाटीबाट अनुसन्धानमा रहेका तीन थुनुवा फरार, चार प्रहरी निलम्बित

दैनिक नेपाल २०७६ असार २४ गते ९:२७

काठमाडौं, २४ असार । डाँका र चोरीका दुई तथा लागुऔषध कारोबारीको अभियोगमा म्याद थपी अनुसन्धानका क्रममा रहेका तीन जना सोमबार राती ललितपुरको भैंसेपाटीस्थित प्रहरीको थुनुवा कक्षबाट फरार भएका छन् ।

थुनुवा कक्षको भेन्टिलेशनको जाली काटेर उनीहरू फरार भएका हुन् । केही प्रहरीको पनि मिलोमतो भएको अनुमान गरिएको छ ।

डाँका तथा चोरी मुद्दाका अभियुक्तहरू शमशेर माझी र रुद्रलाल श्रेष्ठ र लागुऔषधका अभियुक्त रवीकुमार तिमल्सिना फरार भएको बताइएको छ ।

उनीहरूलाई राखिएको कक्षमा केही दिन अघि १५–२० हजारका रिचार्जकार्ड फेला पारेको र ति सबै सुरक्षामा खटिएका प्रहरीले बाँडेको रहस्य पनि खुलेको छ ।

सुरक्षामा खटिएकाहरूकै कमजोरी र मिलोमतोमा समेत थुनुवा फरार भएको हुनसक्ने अनुमान गरिएको छ । तीनै जनालाई प्रहरीले अदालतमा म्याद थपी अनुसन्धान गरिरहेको थियो ।

थुनुवा फरार भएको विषयलाई पुष्टि गर्दै ललितपुर प्रहरी प्रमूख रवीन्द्र धानुकले सुरक्षामा खटिएका चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको बताए ।

छानबिनका लागि एसपी दुर्गा सिंहको संयोजकत्वमा समिति गठन गरेको बताउँदै उनले त्यसको प्रतिवेदनका आधारमा कारबाही हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित