१७ कार्तिक २०८३, मंगलबार

पूर्व सभासदले सुरु गरे पशुपालन

10.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, २३ असार । रुपन्देहीको सियरी गाउँपालिकामा पूर्व संविधानसभा सदस्यले एकिकृत रुपमा पशुपन्छी पालन शुरु गरेका छन् । सियारी गाउँपालिका–४ स्थित वर्लहवामा पूर्व संविधानसभा सदस्य धनबहादुर रायमाझीसहित १३ जना युवाले युनाइटेड एग्रो रिसर्च प्रालिमार्फत सामूहिक रुपमा पशुपन्छी पालन शुरु गरेका हुन् । थरीथरी जातका गाई, भैंसीका पाडा, लोकल र लेस कुखुरा (अण्डा उत्पादन गर्ने), माछा पोखरी, विभिन्न तरकारी खेती एकै ठाउँमा उत्पादन गरेर व्यवसायिक कृषि गर्ने उद्देश्य सहित फार्ममा ५ करोड लगानी गरेका छन् ।

यहाँ एकै ठाउँ थरीथरीका वस्तु किन्न र हेर्न पाइन्छ । विदेश गएर स्वदेश फर्किएका युवाहरुसँग मिलेर संविधानसभा सदस्य रायमाझीले व्यवसायिक कृषिमा हात हालेका हुन् ।

वीरेन्द्र मावि छपियाको १५ विघा जमिन २० वर्षका लागि लिजमा लिएर कृषि व्यवसाय सुरु गरेका हुन् । पूर्वसांसद रायमाझी रातदिन कुखुरा, बाख्रा, पाडा तथा तरकारीको स्याहारसुसारमा खटिन्छन् । उनीसँगै उनका साथीहरु पनि । ‘एक्लै लगानी गर्न कठिन हुने भएकाले युवाहरुलाई समेटेर फार्म खोलेका हौं, यसलाई हामीले रिसर्च केन्द्र बनाउन चाहन्छौं’, उनले भने, ‘कृषि गर्नेहरुले यहाँ आएर सबैकुरा जानकारी लिनसक्नेछन्, विस्तारै त्यसतर्फ हामी लागिरहेका छौं ।’

फार्मलाई रिसर्च केन्द्र बनाउने योजना सञ्चालकको छ । उनले वार्षिक कम्तिमा ३ सय युवायुवती र कृषिमा लाग्न चाहनेहरुलाई प्रशिक्षण दिने योजना सुनाए ।

आफूहरुले मात्र नभई धेरै नेपालीहरुलाई कृषिमा आकर्षित गरी विदेशबाट आयात हुने माछा–मासु र तरकारी रोक्ने योजना सञ्चालकको छ । विलासी जीवन बिताउन जनप्रतिनिधिको होड चलिरहेका बेला पूर्वसांसद रायमाझीले युवाहरुलाई एकठाम गराएर कृषिमा तल्लिन देखिएपछि यहाँका स्थानीय पनि खुशी छन् ।

‘धेरै वर्ष विदेश बसेर आयौं, आफ्नै देशमा केही गरौं भन्ने सोच भए पनि के गर्ने भन्ने योजनै थिएन’, दुई वर्ष दुवै बसेर स्वदेश फर्किएका लगानीकर्ता मध्येकका एक प्यूठान निवासी दलराज सुनारले भने, ‘माननीयज्यू (पूर्वसांसद) ले सामूहिक कृषिको योजना ल्याउनुभयो, हामी पनि सहमत भयौं र कृषि व्यवसाय सुरु गर्यौं, उहाँको मिहिनेतले हामी हर्षित छौं ।’

फार्म सञ्चालक प्यूठान देखि रुपन्देही सम्मका छन् । छरिएर रहेका युवालाई एकठाम रायमाझीले गराएका हुन् । उनी २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालिन एमालेका तर्फबाट समानुपातिक सांसद थिए । प्यूठान वडडाँडा निवासी रायमाझी अहिले नेकपाको प्रदेश ५ कमिटी सदस्य छन् । उनी दुई पटक एमाले प्यूठानको अध्यक्ष भए भने सरस्वती माविको प्रधानाध्यापक समेत भए । २०५४ को स्थानीय निर्वाचनमा बाङ्गेशाल गाविसको अध्यक्ष समेत भएका थिए ।

‘राजनीति गरेर मात्रै हुँदैन, राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ भनेर युवा साथीहरुलाई समेटेर कृषिमा लागेको हुँ’, उनले भने, ‘हरेक राजनीतिकर्मी उत्पादनसँग जोडिए भने भ्रष्टाचार नियन्त्रण हुन्छ, स्वदेशी उत्पादन बढ्छ । यसले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना हुन्छ, सरकारी लक्ष्य पूरा हुन्छ ।’

फार्म संचालन भएको ३ वर्ष भयो । फार्ममा अहिले ६० गाई, ८० बाख्रा, ४० वटा भैँसीका पाडा, ५ सय लोकल कुखुरा र १६ हजार लेस कुखुरा छन् । त्यस्तै, बारीभरी लौका, करेला, भिण्डी, फर्सी, तरभुजा, मकैं लटरम्म फलेका छन् । डेढ विघामा बनाइएका दुई पोखरीमा १७ हजार माछाका भूरा हुर्किरहेका छन् । गाई, पाडा र बाख्रालाई खुवाउन नजिकै घाँस लगाएका छन् । किमु, बकाइलो, टाँकी, सिरिस, डाले घाँस, नेपियर, बदामे घाँस, मलाटो, इस्टाइलो, वर्सिम लगायत मौसमी तथा बेमौसमी घाँस लगाएका छन् ।

अहिले दैनिक २ सय लिटर दूध विक्री गर्दै आएका छन् । त्यस्तै, कुखुरा, अण्डा, खसीबोका, तरकारी, पाडा समेत विक्री गरिरहेका छन् । यसबाट मनग्य आम्दानी भएको छ । ५–७ करोड रुपैयाँ थप लगानी गरेर रिसोर्ट समेत सञ्चालन गर्ने उनीहरुको योजना छ ।

अर्गा्निक तरकारी, माछामासु खानापाइने र रिसर्च समेत गर्न मिल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने सञ्चालकको अपेक्षा छ । अबको १ वर्ष भित्र लोकल कुखुरा कम्तिमा १५ हजार, बोयर बाख्रा १ हजार, लेस कुखुरा १ लाख, गाई २ सय र पाडा २ सय पुर्याउने लक्ष्य लिएकोे अर्का सञ्चालक सन्तोष शर्मा भुसालले बताए । भुसाल १३ वर्ष दुवैमा रोजगारी गरेर फर्किएका युवा हुन् ।