
काठमाडौँ, १८ असार । विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।
संस्थाद्वारा संकलन गरिएको ‘ब्लड–मनी’ साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै घोषणा गरेका हुन् ।
गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाईको पहल गर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाख पचास हजार सहयोग गर्ने प्रतिवद्वता आएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनि लामिछाने जानकारी दिए ।
लामिछानेले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दै आएको विश्वास दिलाए ।
बैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्वारकै निम्ति आफू इन्डोनेसियाको बालीसम्म पुगेकोे पनि उनले स्पष्ट पारे । उनले भने, ‘यो भन्दा पहिला पनि राष्ट्र परिवर्तनको लागि युवा अभियानहरु संचालन गर्दै भ्रष्टाचार, विकृति तथा विसंगतिकाविरुद्व अभियान चलाउँदै आएका छौँ ।’
पीडितहरुको सहयोगार्थ आफूले सहयोकमुलक कार्यहरु गर्दै आएको उनको भनाई छ ।
लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको लागि सहयोग गर्न पाउँदा आफूमा खुशी र थप हौसला प्रदान भएको बताए ।
कार्यक्रममाबोल्दै साउदी जेलमा रहेका पीडित चौधरीका बुवा सुकराले आफ्नो छोरो केही पैसा कमाउन गएको तर, झण्डै मृत्युको मुखमा पुगेको सुनाउँदै अन्ततः मृत्युको मुखबाट बचाएर घर फर्कने वातावरण बनाउने संस्थाप्रति धन्यवाद दिए।
छोराले केही कमाउला र परिवारिक समस्या सामाधान होला भनेर बाध्यताले छोरालाई विदेश पठाएको जनाउँदै विगत लामो समयदेखि आफू नमरी छोराको मृत्युको खवर कहिले आउने हो भन्दै चिन्तामा बितेको पनि उनले सुनाए ।












प्रतिक्रिया