काठमाडाैं, १६ असार । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्ने पार्टी नेकपा नै हो । देशभरिका ज्येष्ठ नागरिकहरू अहिलेको नेकपा र तत्कालीन एमालेको यही गुन सम्झन्छन् । तर, पार्टीभित्रैका ज्येष्ठ नागरिक भने यतिखेर नेकपा नेतृत्वसँगै दिक्क छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
उनीहरू रहने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको बेहाल छ । नेकपाले केन्द्रीय समिति, प्रदेश र जिल्ला तहको एकता टुंग्याइसकेको छ । पार्टीलाई महत्वपूर्ण सल्लाह–सुझाब दिने विभाग मानिने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च भने कहिले बन्ने हुन्, टुंगो छैन ।
‘एमाले–माओवादीको एकता प्रक्रिया सुस्त भएकै हो,’ नेकपाका पाका नेता अमृतकुमार बोहराले भने, ‘संगठनमा भूमिकाविहीन बनाइएको छ । अहिले एकीकरण तलसम्म हुन सकेको छैन । आशा गरौँ, तत्काल एकता होला ।’
मनमोहन अधिकारी नेतृत्वको सरकारले ०५१ मा पहिलोपटक वृद्धभत्ता सुरु गर्दा देशभरिका ज्येष्ठ नागरिकहरूमा उत्साह थपिएको थियो । पार्टीभित्र भने पाका नेताहरूलाई भूमिका
नदिने प्रवृत्ति रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठले बताए ।
‘पार्टीमा केन्द्रीय समितिको बैठकसँगै कार्यविभाजन हुन सकेको छैन । पोलिटब्युरो गठन भएको छैन, विभाग गठन भएका छैनन्,’ श्रेष्ठले व्यंग्यात्मक प्रतिप्रश्न गरे, ‘सल्लाह पनि नलिने र नसुन्ने सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनमा नेताहरू किन लाग्थे ?’ सल्लाहकार परिषद्मा बस्नुभन्दा पार्टीको सेल कमिटीमा बस्दा भूमिका हुने पुराना कम्युनिस्ट नेता नरेन्द्रजंग पिटरले बताए ।
सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चबारे पार्टीमा छलफल नभएको तत्कालीन एमाले केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष केशव बडालले बताए । ‘हामीलाई राखेर सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको जिम्मेवारी कसलाई दिने र कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल नै भएको छैन,’ बडालले भने, ‘पार्टीको पोलिटब्युरो र अन्य विभाग पनि गठन नभएकाले ढिला भएको हुन सक्छ । आशा गरौँ छिट्टै टुंगो लाग्ला ।’
पार्टीको एकताले गति नलिएको तत्कालीन माओवादी केन्द्रका राष्ट्रिय सल्लाहकार परिषद् अध्यक्ष नन्दकुमार प्रसाईंले बताए । सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च दुई फरक संगठन बनाएर तत्कालीन एमाले र तत्कालीन माओवादीले एक–एकको नेतृत्व लिने सहमति हुन सक्ने प्रसाईंले बताए ।
एमालेले ०४९ सालदेखि सल्लाहकार गठन गरेको थियो । ज्येष्ठ कम्युनिस्ट मञ्च भने ०६५ सालमा बुटवलमा सम्पन्न भएको आठाैं महाधिवेशनबाट गठन गरिएको थियो । पार्टीमा ७० वर्ष पूरा भएका नेतालाई राख्ने गरी मञ्च गठन गरेको थियो ।
मञ्चको अध्यक्षता धेरै उमेर भएका पुराना नेताले गर्दै आएका थिए । सल्लाहकार परिषद्को अध्यक्षता केशव बडालले गर्दै आएका थिए । तत्कालीन माओवादीले राष्ट्रिय सल्लाहकार परिषद्को गठन ०६५ सालदेखि गरेको थियो । पहिलो अध्यक्ष कृष्णदास श्रेष्ठ थिए ।
केन्द्रीय समितिलाई कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेका अनुभवी व्यक्तिहरूलाई ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्न सक्नेछ । ज्येष्ठ कम्युनिस्ट मञ्चमा अध्यक्ष, सचिव र आवश्यक मात्रामा सदस्य थप गर्ने विधानमा व्यवस्था छ ।
मञ्चका पदाधिकारी एवं सदस्यले आफ्नो अनुभवद्वारा युवा पुस्तालाई प्रशिक्षित र उत्प्रेरित गर्ने अधिकार दिएको छ । कमिटीको मर्यादा पोलिटब्युरो सदस्यसरह र सचिव तथा सदस्यहरूको मर्यादा केन्द्रीय समितिको सदस्यसरह हुने उल्लेख छ ।















प्रतिक्रिया