६ कार्तिक २०८३, शुक्रबार

पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १६ असार । पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएको छ ।

समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले नुवाकोट–१ का प्रदेश सांसद बद्री मैनालीलाई बोलाएर महानगरपालिकाले सहमति गरेको, तर पीडितको आवाज नसुनेको बताए ।

महानगरपालिका सचिव केदार न्यौपानेले शुक्रबार बद्री मैनाली, कनकी–२ का वडाध्यक्ष चन्द्रबहादुर बलामी, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहरी विकास मन्त्रालयका प्रतिनिधिसँग समस्या समाधानका लागि छलफल गरेका थिए ।

स्थानीयको जग्गा अधिग्रहणका लागि विज्ञ टोली गठन गर्ने र प्रतिवेदनका आधारमा सरकारलाई सिफारिस गर्ने सहमति भएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सांसदलाई बोलाइयो, हामीलाई अपराधीजस्तो ठानियो

स्थानीयले भने सांसदलाई बोलाएर गरेको सहमति नमान्ने बताएका छन् । ‘वास्तविक पीडितलाई नबोलाउने, सांसदलाई बोलाएर सहमति गर्ने काम स्वीकार्य हुँदैन । हिजोका मितिमा भएका सहमति पनि कार्यान्वयन भएका छैनन्,’ गजुरेलले भने, ‘आधिकारिक रूपमा हामीलाई बोलाएर सहमति गर्ने र त्यो सहमति कार्यान्वयन नहुने अवस्था नबन्दासम्म हाम्रो संघर्ष जारी रहन्छ ।’

४२ रोपनी जग्गा क्षतिपूर्ति नदिई महानगरले माटो उठाएको स्थानीयको आरोप छ । राजन घिमिरेको १२, दिवस श्रेष्ठको १० र शेरबहादुर बलामीको २० रोपनी जग्गाको माटो महानगरले फोहोर छोप्न प्रयोग गरेको छ । व्यक्तिको जग्गा तत्काल अधिग्रहण गर्नुपर्ने उनीहरूको भनाइ छ । ‘हाम्रा समस्या समाधान गर्न ध्यान नदिने, पेल्न खोज्ने, अपराधीजस्तो व्यवहार गर्ने गरिएको छ,’ उनले भने ।

महानगरपालिकाले भने पटक–पटक बोलाउँदासमेत स्थानीयवासी वार्तामा नआएको दाबी गरेको छ । ‘उहाँहरूलाई पटक–पटक छलफलका लागि बोलायौँ । न औपचारिक रूपमा आफ्ना माग राख्नुभयो । न त छलफलकै लागि आउनुभयो । त्यसैले, जनप्रतिनिधिलाई बोलाएर सहमति गरेका हौँ,’ श्रेष्ठले भने, ‘सहमति गरेर माग सम्बोधन गर्न हामी तयार छौँ । तर, उहाँहरू सडकमा मात्रै सीमित हुनुभएको छ ।’

स्थानीयको अवरोधका क्रममा झडप, ११ पक्राउ

शुक्रबारको सहमतिअनुसार महानगरले शनिबार बाटोमा रोकिएका फोहोर बोकेका ट्रकलाई डम्पिङ साइटमा पठायो, तर स्थानीयले अवरोध गरे । सो क्रममा स्थानीयले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो । ‘फोहोर फाल्न अवरोध गर्ने ११ जनालाई पक्राउ गरेका छौँ । सामान्य झडप भएको हो,’ नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर अल्ली मगरले भने ।

स्थानीयले भने प्रहरीले लाठीचार्ज गर्दा चरी बलामी घाइते भएको बताएका छन् । स्थानीयको अवरोधका बीच बाटोमा रोकिएका ६० ट्रिप फोहोर व्यवस्थापन गरिएको महानगरले जनाएको छ । स्थानीयले लिखित रूपमा छलफलका लागि नबोलाए अवरोध जारी राख्ने चेतावनी दिएका छन् ।