६ कार्तिक २०८३, शुक्रबार

मन्त्रीको अडानले अन्योलमा संसदीय समिति

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीबीच शुक्रबार जुहारी चलेको छ।

समिति भने मन्त्री यादव अडानमा रहेपछि के गर्ने भनेर अन्योलमा परेको छ। मन्त्री यादव जवाफ दिएर फर्किएपछि पनि केही बेर बसेको समिति बैठक यो विषयमा निष्कर्षविहीन बन्यो। ‘हामीले मन्त्रीको कुरा सुन्यौं’, समिति सभापति रामनारायण बिडारीले भने, ‘निर्णय अर्को बैठकमा गर्ने भनेका छौं।’ तर, बैठकको मिति तोकिएको छैन।

समिति बैठकमा मन्त्री यादवले आफूले निर्देशन दिँदा कुनै कानुन नमिचेको बताएका थिए। ‘कुन ऐनविपरीत भयो ? ’, उनले प्रतिप्रश्न गरे, ‘एक धुर जग्गा बेच्न त सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्छ या वारेसनामा चाहिन्छ। करोडौंको सेयर खरिदबिक्री गर्न नचाहिने ? ’

उनले अघिल्लो वर्ष असार २७ मा कम्पनी रजिस्ट्रार भुवनहरि अर्याललाई सेयरखरिद बिक्री प्रक्रियामा सम्बन्धित देशको दूतावास र अदालतमा सम्बन्धित व्यक्तिले गरेको सनाखतका आधारमा वा कम्पनीको रोहबरमा सनाखत गरेर मात्रै लगत दर्ता गर्न निर्देशन दिएका थिए।

उक्त निर्देशनमा कुनै ऐन, नियम उल्लेख नगरिएको भन्दै समितिले चासो देखाएको थियो। उक्त निर्देशन प्रत्यायोजित अधिकारविपरीत भएको भनी मन्त्री यादवलाई समितिले बोलाएको थियो।

मन्त्री यादवले आफू गलत नभएको बताए। ‘मैले कुनै ऐन मिचेर निर्णय गरेको छैन’, उनले भने, ‘बरू कुन ऐनअनुसार हो भनेर पत्रमा उल्लेख गरिनँ। त्योचाहिँ कमजोरी भयो होला।’