
-विनोद ढकाल/दैनिक नेपाल
काठमाडौं, १३ असार । उपत्यकाका विभिन्न ठाउँमा हुने ‘सूई आक्रमण’का संलग्न मध्येका ३० बर्षिय सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेपछि उनको बयान थियो– रमाइलोका लागि गरेको । सिरिन्च हैन, ढलाक किलाले घोपेको ।
उनको बयान र तथ्यबारे प्रहरी अनुसन्धान अझै जारी छ । एकाएक राजधानीलगायत उपत्यकाका विभिन्न ठाउँमा किन यस्तो आक्रमण भइरहेको छ ? कारण खोजीरहेको छ, प्रहरी ।
कार्कीबाहेकले पनि यो आक्रमणमा तिव्रता दिएका विवरण बाहिर आइरहेका छन् । बनेपामा बुधबार सिरिञ्च आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं हुन् ।
जेठ महिनादेखि यस्ता आक्रमणको शिलशीला जारी छ । अहिले सिरिञ्ज आक्रमणमा परेका महिलाहरूको उपचार काठमाडौंको टेकु अस्पतालमा भइरहेको छ ।
दिदीको घरबाट आफ्नो घर फर्कदै गरेको अवस्थामा बनेपाको करुणा मार्गस्थत सडकमा आक्रमण भएको थियो । डाक्टरको समूहले पीडित महिलालाई १५ दिनपछि पुनः रगत जाँच गर्न बोलाएको छ । पीडितले भनिन्,‘औषधि सेवनले पखाला, उल्टी, खान मन नलाग्ने र ज्वरोसमेत आउने भइरहेको छ ।’
गएको डेढ महिनामा यस्तै प्रकृतिका नौ घटना भइसकेको तर यसबाट कुनै संक्रमण भए–नभएको खुलेको छैन । शुक्रराज ट्रपिकल सेन्टरमा उपचारका लागि आएका महिलाको संख्या मात्र नौ हो, अन्यत्र पनि यस्ता घटना भएका हुनसक्छन् । सबै पीडितहरू महिला नै छन् ।
टेकुस्थित ट्रपिकल सेन्टरका डा. शेरबहादुर पुनले यो घटना देखेर सबै डाक्टर हैरान भएको बताए । पछिल्ला पाँच घटना त गएको एक साताको मात्रै हो । यसअघि भएका चार घटना सार्वजनिक भएपछि त्रसित हुँदै महिलाहरू टेकु अस्पताल पुगेका थिए । उनीहरूलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ ।
‘वेलकम टु एचआइभी क्लव’ अर्थात् एचआइभी क्लवमा यहाँलाई स्वागत छ । यसप्रकारको आक्रमणमा सन् १९८९ मा १० जना किशोरीलाई न्युयोर्क सहरको उच्च पश्चिमा क्षेत्रबाट पक्राउ समेत गरिएको थियो
सामान्य मान्दामान्दै पछिल्लो तथ्यांकले सिरिञ्ज आक्रमण घटनाको ग्राफ बढेको देखाउँछ । तर प्रहरीले भने आक्रमणकारी पक्राउ नभएकाले घटनाबारे थप भन्न नसकिने जनाएको छ ।
सूई आक्रमणको विश्व इतिहास
विश्व परिवेशमा यस्ता घटना भएका थिए । यसलाई विज्ञहरूले मानसिक समस्या, काल्पनिक रोगको परिणामका रूपमा व्याख्या गरेका थिए । रगतबाट संक्रमण हुने रोग अन्यलाई पनि होस् भनेर यस्ता मानसिक रोगीबाट घटाइने घटना हो ।
अमेरिका, अस्ट्रेलियालगायतका मुलुकमा ९० को दशकमा यस्तो आक्रमण हुने गरेको थियो । एजेन्सीहरूका अनुसार एचआइभी संक्रमित उच्च घरानीया सहरीयाबाट यस्ता आक्रण गराइन्थ्यो ।
वेश्यावृत्तीमा रहेका केटीहरूबाट आफूमा यस्ता रोग सरेपछि उच्च धरानीया युवाले यस्तो आक्रमणको शिलशीला सन् १९३० मा अमेरिकाको सहर न्युयोर्कबाट गरेका थिए ।
यसलाई एक हिसाबले त नारा नै बनाइएको थियो । ‘वेलकम टु एचआइभी क्लव’ अर्थात् एचआइभी क्लवमा यहाँलाई स्वागत छ । यसप्रकारको आक्रमणमा सन् १९८९ मा १० जना किशोरीलाई न्युयोर्क सहरको उच्च पश्चिमा क्षेत्रबाट पक्राउ समेत गरिएको थियो ।
जब सन् १९९०मा इन्टरनेटको विकास भयो, त्यसपछि यो क्रमले अझ परिस्कृत रूप लियो । सिनेमा हल अथवा अन्य कतिपय स्थानमा यस्ता आक्रमण बढ्न थाले र नयाँ स्लोगन दिइयो– वेल कम टु एड्स क्लब । अर्थात्, एड्स क्लवमा स्वागत छ । इन्टरनेटको विकाससँगै इमेलबाट यस्ता समूह विभिन्न स्थानमा कसरी सहभागी रहने भन्ने विषयमा केन्द्रिकृत हुन थालेका थिए ।
सिड्नीको त जेलमै आक्रमण भयो
एचआइभी संक्रमण हुनेगरी सिरिञ्चको आक्रमण अस्ट्रेलियाको सिड्नी सहरीस्थित लङ बेय जेलमा २२ जुलाई १९९० मा भएको थियो । जेलर जिओफ्रेयी पियर्सलाई एचआइभी संक्रमित कैदी ग्राहम फारलोले सिरिन्च आक्रमण गरिदिए । जेलर पियर्सलाई एचआइभी पोजिटिभ भयो र एड्स सम्बन्धी कमजोरीका कारण २८ बर्षको उमेरमा नै सन् १९९७ मा उनको मृत्यु भएको एजेन्सीहरूको विवरणमा उल्लेख छ ।
कसरी सुरक्षित हुने ?
भिडभाड अथवा सिनेमा हल, मललगायतका ठाउँमा अपरिचित तर शंकास्पद व्यक्तिको नजिक जानु हुँदैन । एक्लै अथवा सहयोगीबिना हिँड्न पनि हुँदैन ।
यस प्रकारका कुनै पनि आक्रमण भए तत्कालै प्रहरीलाई जानकारी दिने र अस्पतालमा रगतको परिक्षण गराई हाल्न पर्दछ । कसैले रमाइलोका लागि गरेको भने पनि यसको असर खतरनाक हुनसक्ने विश्व परिघटनाले प्रस्ट पार्दछ ।















प्रतिक्रिया