६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको जग्गा प्रतिआना १२ देखि ५० लाख रुपैयाँसम्म

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १३ असार । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका जग्गाको अधिकतम मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

महानगरपालिकाले नगरसभाबाट प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ मा महानगपालिका क्षेत्रभित्रका जग्गाहरूको सम्पत्ति कर मूल्यांकन प्रयोजनाका लागि मूल्य कायम गरेको छ । महानगरपालिकाले न्यूनतम मूल्य भने प्रतिआना १२ लाख रुपैयाँसम्म तोकेको छ ।

व्यापारिक क्षेत्रका जग्गा प्रतिआना ५० लाखसम्म

काठमाडौं महानगरपालिकाले न्युरोड, जमल, ठमेल, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर, रत्नपार्कलगायतका व्यापारिक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँसम्म मूल्यांकन गरेको छ । हनुमानढोकापूर्व नयाँसडक, पुराना महानगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोेकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण चोकबाट जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो महानगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, केशरमहल, क्षेत्रपाटी, ठमेलका मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, इन्द्रचोक, असन, भोटाहिटी, जमल, तिनधारा पाठशालालगायतका स्थानका मूलबाटासँग जोडिएका जग्गाहरूको पनि सोही मूल्य कायम गरिएको छ । साथै माइतीघर, पुतलीसडक, हात्तीसार, दरबारमार्ग, कमलादी, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका दायाँ–बायाँका जग्गा र रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँ–बायाँका जग्गाहरूको पनि प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ ।

चाबहिल मालपोततर्फ प्रतिआना १३ देखि ३० लाखसम्म

काठमाडौंको चाबहिल मालपोततर्फ प्रतिआना अधिकतम ३० लाख रुपैयाँदेखि १३ लाख रुपैयाँ तोकिएको छ । महानगरपालिकाले चक्रपथ जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाहरू प्रतिआना ३० लाख रुपैयाँ कायम गरेको छ । त्यस्तै, मित्रपार्कदेखि कालोपुल, चाबहिल चोकदेखि पासाङ ल्हामु चोक, पासाङ ल्हामु चोकदेखि जोरपाटी, गौशाला चोकदखि रातोपुलसम्मको मूल सडकले छोएका जग्गाहरूको मूल्यांकन प्रतिआना २८ लाख रुपैयाँ तोकेको छ ।

चाबहिल चोकको पीपलबोट हुँदै गौरीघाटसम्म, चुच्चेपाटी चोकदेखि महाँकालको पीपलबोट, महाँकालदेखि जोरपाटी, आरुबारी र सोबीचमा पर्ने जग्गाहरूको मूल्यांकन प्रतिआना १३ लाख रुपैयाँ तोकिएको छ । साथै गोपीकृष्ण नगर जग्गा एकीकरण आयोजनाभित्रको जग्गाको ६ र ४ मिटर बाटोसँग जोडिएका दायाँ–बायाँका जग्गाहरू, गौरीघाट चोकदेखि पूर्वतर्फ बागमती ढलले निर्माण गरेको बागमती किनाराको सडक हुँदै जोरपाटीको सिमानासम्म र सोबीचमा पर्ने जग्गाहरू, गौरीघाट चोकदेखि टुसाल निस्किने, गौरीघाट चोकबाट बौद्धसम्म जाने मूल सडकसँग जोडिएका जग्गा र गौरीघाटदेखि बौद्ध मूल सडक निस्किने बाटो, चोकका जग्गाहरू र सोबीचमा पर्ने जग्गाहरूको पनि प्रतिआना १३ लाख कायम गरिएएको छ ।

बाटो नभएको जग्गाको प्रतिआना ४ लाख कायम

काठमाडाैं महानगरपालिका १३ अन्तर्गत पर्ने बाटो नभएका जग्गाहरूको प्रतिआना ४ लाख रुपैयाँ तोकेको छ । त्यस्तै, गोरेटो बाटो ७ लाख रुपैयाँ, कच्ची मोटर बाटो १२ लाख र सहायक पक्की सडक भएको जग्गाहरूको प्रतिआना १३ लाख रुपैयाँ तोकिएको छ । तर, विष्णुमती खोला पुलदेखि रविभवन १४ को सिमानासम्म प्रतिआना २५ लाख रुपैयाँ तोकिएको छ । कालीमाटी चोकदेखि दक्षिणतर्फ कालीमाटी बल्खु मूल सडक १४ को सिमानासम्म पनि महानगरपालिकाले सोही दर तोकेको छ ।

त्यस्तै, कामपा १४ मा बाटो नभएको जग्गाको ५ लाख ५० हजार रुपैयाँ प्रतिआना तोकिएको छ । गोरेटो बाटोमा ९ लाख, कच्ची मोटरबाटोमा १२ लाख र सहायक पक्की सडकमा १३ लाख रुपैयाँ तोकेको छ । तर, सोल्टीमोड नगर १३ सिमानादेखि कलंकी चोक गणेशमान सिंह पथसम्मका जग्गाहरूको मूल्य भने प्रतिआना २५ लाख रुपैयाँ तोकिएको छ । कालीमाटी चोकदेखि दक्षिणतर्फ कालीमाटी बल्खु विश्वविद्यालय पथ, मूल सडक १३ को सिमानादेखि बल्खु चोकसम्म पनि महानगरपालिकाले २५ लाख रुपैयाँ तोकेको छ ।

कामपा १५ अन्तर्गतको बाटो नभएको जग्गा ७ लाख रुपैयाँ तोकेको छ । गोरेटो बाटोमा ९ लाख ५० हजार, कच्ची मोटरबाटोमा १२ लाख र सहायक पक्की सडक १३ लाख रुपैयाँ र परिक्रम मार्गमा १५ लाख रुपैयाँ तोकिएको छ ।

१२ लाख रुपैयाँसम्मका जग्गा

महानगरपालिकाले गोंगबुको विष्णुमती करिडोर क्षेत्रका लागि भने प्रतिआना १२ लाख रुपैयाँ मूल्यांकन गरेको छ । महानगरपालिकाले सडक भएको क्षेत्रमा तोकेको मूल्यमा यो सबैभन्दा कम हो ।

त्यस्तै चक्रपथबाहिर जन मार्ग, मनमोहन मार्ग, शक्ति मार्ग, शिवप्रिय मार्ग, रारा मार्ग, साईबाबा मार्ग, एराहिटी मार्ग, बुद्ध मार्ग, नयाँ कोलोनी मार्ग, मिलीजुली मार्ग, शंख मार्ग, सिर्जनशील मार्गका मूलसँग जोडिएका दायाँ–बायाँका जग्गाहरूको मूल्य महानगरपालिकाले १६ लाख तोकेको छ ।

कोटेश्वर, जुडीबुटी चोकेदखि उत्तर पेप्सीकोला चोक हुँदै मनोहरा पुलसम्मको मूल सडकसँग जोडिएका जग्गाहरू, जडीबुटीदेखि दक्षिण बालकुमारी पुल, नरेफाँटका मूल सडकसँग जोडिएका जग्गाहरू, सामाखुसी चोकबाट खरिबोट हुँदै ग्रिनल्यान्ड स्कुलसम्मको मूलबाटोमा जोडिएको जग्गाको मूल्य प्रतिआना १६ लाख रुपैयाँ तोकिएको छ ।