बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

व्यवस्थै उल्टाउने खेल ! प्रधानमन्त्री ओलीका विदेश विज्ञले गरे यस्तो संकेत

दैनिक नेपाल २०७६ असार १० गते १३:४२

काठमाडौं, १० असार । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउनकै लागि विभिन्न प्रकारका देशी विदेशी खेल भइरहेको बताइएको छ ।

हालै मात्र नेपाल हिन्दू राज्य हुनुपर्छ भनी भारतीय संस्थापन अन्तर्गत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अभिव्यक्ति दिएका थिए ।

त्यसले पनि केही संकेत गरेको थियो । अर्को, अमेरिकाको एउटा प्रतिवेदनले नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि भारतीय पक्षले ठूलो रकम खर्च गरेको जनाएको थियो ।

यसबीच, नेपालको व्यवस्था परिवर्तनका निम्ति अनेक खेल चलिरहेको संकेत प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र विज्ञ राजन भट्टराईले गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्टाउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने । यसका लागी कुन कुन ब्यक्ति र शक्तिहरुलाई एकठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता स्रीजना गर्न सकिन्छ त्यो गर्ने खेल भइरहेको छ ।’

यस्तो प्रयोगका बारेमा पनि खुलाउँदै उनले जोडेका छन्,‘यसका लागि भित्र र बाहिरका केही शक्तिहरु सक्रिय हुंदै गरेको अवस्था । अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुश्प्रयास । समय मै सचेत भै जनमतको कदर गर्दै जन अपेक्षा पूरा गर्न तर्फ सबै केन्द्रित होऔं ।’

प्रधानमन्त्रीका विदेश विज्ञकै धारणा यसरी आएपछि सरकारलाई अहिले घेराबन्दीमा पारिएको बुझ्न कठिन छैन । अधिकारीहरूले नेपालको व्यवस्था परिवर्तनका निम्ति नै ठूलो प्रयोग भइरहेको सूचना प्रधानमन्त्री कार्यालयमा पुराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित