बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

एसएसपी सहकुल थापाको टाउको खाइरहेको एउटा मुद्दा !

दैनिक नेपाल २०७६ जेठ २९ गते १६:१४

काठमाडौं, २९ जेठ । राजधानीको माइतिघरलगायतका ठाउँमा एक हुल युवायुवती मुख थुनेर देखा परे । उनका छातीहरूमा ‘वी वान्ट फ्रिडम अफ एक्सप्रेशन, नराम्रोलाई नराम्रो भन्न नपाइने’लगायतका नारा लेखिएका प्लेकार्ड थिए ।

यी प्लेकार्ड पक्कै पनि मिम नेपाल युट्युव च्यानल चलाउने प्रनेश गौतमको रिहाईको माग गर्दै देखाइएका थिए । धेरैले लेखेका थिए– हामी अभिव्यक्ति स्वतन्त्रता चहान्छौं ।

एक तहमा प्रनेशको रिहाईका लागि सामाजिक सञ्जालमा पनि बलियो आवाज उठिसकेको छ, प्रहरीविरुद्ध । पुराना फिल्म समिक्षक तथा नेपाल लाइभका सम्पादक नारायण अमृतले ट्वीट गर्दै लेखेका छन्,‘ एक शब्द पनि खर्च नगरौं भन्ने तहको लाजमर्दो प्रहरी प्रशासनले प्रनेश गौतमलाई हतकडी लगाएर अपराधी बनायो । त्यो पनि के गर्दा ? फिल्म समिक्षा गर्दा । सरका र ! अब बोल्न, लेख्न र ब्यङ्ग्य सृजना बन्द गर्नुपर्ने हो? देशमा निरंकुशता आएकै हो त ?’

प्रनेश पक्राउ प्रकरणमा प्रहरीको आलोचना व्याप्त हुन थालेको छ । पत्रकार अमृतले मात्र होइन, फिल्मी क्षेत्रमा अब्बल फिल्म समिक्षा गर्ने पत्रकार गोकर्ण गौतम लेख्छन्,‘समीक्षाको शैलीबारे बहस हुनसक्ला, मन नपर्न सक्ला, भाषिक मयार्दाको कुरो पनि हुनसक्ला तर ‘एब्सर्ड’ शैलीको समीक्षाका आधारमा साइबर कानुन लगाएर थुन्नु कानुन दुरूपयोगको हद हो । निर्मलाका हत्यारा खोई ? ३३ किलो खोई ? देशको दुश्मनचाहिँ कमेडियन ?’

यो प्रकरण प्रहरीको नुर गिराउनेगरी चर्चामा छ । सामाजिक सञ्जाल हुँदै सडकसम्म पुगेको प्रनेस पक्राउ प्रकरणमा प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापा प्रहरीप्रति आक्रोशित देखिए । उनले लेखेका छन्,‘एब्सर्डिस्ट र्युमरलाई विश्वभरी सामान्य रूपमा लिइन्छ । यस्तै रूपमा सिनेमाको हस्यौली समिक्षा गरेकोमा प्रनेश गौतमलाई नेपाल प्रहरीले साइबर क्राइममा समात्नु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ छ । आलोचनात्मक चेत लोकतन्त्रको मर्म हो, यसको संरक्षण गरियोस् ।’

विभिन्न क्षेत्रमा सक्रिय धेरै जनाले प्रनेश प्रकरणमा प्रहरीको आलोचना गरेका छन् । यो आलोचनाका मुख्य पात्र स्वभाविक रूपमा गौतमलाई पक्राउ गर्ने महानगरीय प्रहरी अपराध महाशाखा र त्यसको पनि नेतृत्व गर्ने एसएसपी सहकुल थापालाई जान्छ । त्यसबाहेक, यो नेपाल प्रहरी संगठनविरुद्धै आम साधारणले बनाउन थालेको धारणााको कारक पनि बनिरहेको छ ।

कुनै पनि उजुरीको प्रमाण, त्यसको विश्वव्यापी प्रचलन र गाम्भिर्यतालाई बेवास्ता गरी उजुरी परेकै भरमा मात्रै फिल्म पत्रकार प्रनेश गौतमलाई पक्राउ गर्दा प्रहरी आलोचित स्वभाविक जस्तो देखिएको छ ।

एक फिल्मकर्मी भन्छन्,‘एकातिर जात्रैजात्रासँग ३ जेठमा फिल्म रिलिज हुँदा कम हल पाएको पीडा, अर्कातिर व्यापार हुन नसकेको झोंकमा प्रनेश गौतमको समिक्षा आएपछि मिलन चाम्स रन्थनिए, त्यसैको आवेगमा उनी अपराध महाशाखामा उजुरी दिन पुगे ।’

चाम्सको उजुरी पर्नासाथ प्रहरी प्रनेशको खोजीका लागि सक्रिय भयो । केही दिनमा पक्राउ गरी अभियुक्त भनी प्रचार गर्दा महाशाखा प्रमूख थापाको टाउको दुखेको छ, जसका कारण प्रहरी संगठन नै आलोचित भयो ।

प्रतिक्रिया
सम्बन्धित