बुधबार, १ असोज २०७६
DainikNepal.com
बुधबार, १ असोज २०७६

वीपी प्रतिष्ठान उपकुलपति रौनियारको फटाही खुल्यो, चिकित्सा शिक्षा आयोगको निर्देशनात्मक पत्र

दैनिक नेपाल २०७६ जेठ २८ गते १२:००

काठमाडौं, २८ जेठ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले चिकित्सा शिक्षा प्रवेश परिक्षाको संयोजकत्व नियमविपरित तोकेर अगाडि बढाएपछि त्यसलाई तत्काल रोक्न शिक्षा मन्त्रालयले निर्देशनात्मक पत्र पठाएको छ ।

विगतमा त्यस्तो परिक्षा प्रतिष्ठानका शिक्षाध्यक्षको संयोजकत्वमा हुनुपर्ने प्रावधान रहे पनि रौनियारले मनपरी ढंगबाट डिनलाई संयोजक तोकी प्रवेश परिक्षा अगाडि बढाउने तयारी गरेका थिए । उक्त विषयमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रालयलाई पुरानै प्रावधानअनुसार प्रवेश परिक्षा सञ्चालनका निम्ति निर्देशन दिन भनेको थियो ।

२४ जेठमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शिक्षा मन्त्रालयको चलानी नम्बर २९२ को पत्र उपकुलपति रौनियारका नाममा काट्दै भनेका छन्,‘चिकित्सा शिक्षा आयोगको २०७५÷१२÷४ को बैठकको निर्णयअनुसार पूर्ववत विधि र प्रक्रियाअनुसारै चिकित्सा शिक्षा अध्ययन गर्न चाहनेका लागि प्रवेश परिक्षा आवश्यक प्रबन्ध मिलाउने भनी कुलपति तथा प्रधानमन्त्रीबाट निर्देशन भएको छ ।’

चिकित्सा शिक्षा आयोगका सह–अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले पठाएको पत्रमा भनिएको छ,‘अर्को निर्णय नहुन्जेलसम्मका लागि चिकित्सा शिक्षा क्षेत्रमा संलग्न निकायहरूले हाल अपनाएका विधिअनुसार नीतिगत निर्णयबाहेकका यथावत सञ्चालन गर्ने, साझा प्रवेश परिक्षा, शुल्क, संगठन संरचना निर्माण तथा नियमावली तर्जुमाका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।’

उपकुलपति रौनियारलाई शिक्षा मन्त्रालयले स्पष्ट भाषामा लेखेको छ,‘कुलपतिको निर्देशअनुसार विगत बर्षहरूमा जस्तै शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परिक्षा समिति गठन गरी परिक्षाको निष्पक्षता, स्वच्छता, पारदर्शिता र स्तरियता कायम गरी परिक्षाको कामकारबाही अगाडि बढाउन निर्देशन गरिन्छ ।’

रौनियार किन बायस भए ?

वीपी प्रतिष्ठानको उपकुलपति पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेपछि स्वभाविक ढंगले त्यहाँको कायममुकायमको जिम्मेवारी शिक्षाध्यक्षमा पर्दथ्यो । सोही अनुसार बर्खास्त गरेपछि शिक्षाध्यक्ष गुरु खनाललाई कार्यबाहकको जिम्मेवारी दिइएको थियो ।

तर, सर्वोच्च अदालतमा रिट हाली पुनर्वहाली भएपछि रौनियारले खनालसँग व्यक्तिगत इगो साँध्न र अकुत रकम अवैध ढंगबाट आर्जनका लागि आफ्ना नजिकका डिनको संयोजकत्वमा प्रवेश परिक्षा गराउने तयारी गरेका थिए ।

जुन, चिकित्सा शिक्षा आयोगको निर्णय र विधि प्रक्रियाका विरुद्धमा थियो । प्रधानमन्त्री ओलीले रौनियारको उक्त कदमलाई गम्भिरताका साथ लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित