काठमाडौं, २५ जेठ । पहिलो चरणको राष्ट्रिय जागरण अभियान समापनको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरोधी नेताहरूले महाधिवेशनको प्रक्रिया शुरू गर्न दवाव दिएका छन् ।
अभियानका क्रममा स्थानीय तहका नेताहरूले पार्टी सुधारका लागि १४औं महाधिवेशन प्रक्रिया थाल्न नेतृत्वलाई सुझाव दिएका हुन् ।
उनीहरूले शीर्ष तह गुटमा अलमलिइरहेको र केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म सशक्त प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन नसकेको भन्दै महाधिवेशनमा जुट्न दबाब दिएका छन् ।
जागरण अभियानमा स्थानीय तहमा कार्यकर्ताले अधिवेशन माग गरेको केन्द्रीय सदस्य डा.शशांक कोइरालाले बताए । डा.कोइरालाले जागरण अभियानका क्रममा सार्वजनिक रुपमै महाधिवेशनको माग गरेका छन् ।
स्थानीय नेताहरूले महाधिवेशनमा गए पार्टी स्वतः सक्रिय रहने सुझाव दिएको सभापति देउवाविरोधी नेताहरूले जनाएका छन् ।
स्थानीय तहका साथीहरूले महाधिवेशन प्रक्रिया थालनी गरेमात्रै पार्टीमा जागरण आउन सक्ने भन्दै त्यसमा जुट्न आग्रह गरेका छन् ।
नियमित प्रक्रियाअनुसार आउने फागुनमा कांग्रेसको १४औं महाधिवेशन हुनुपर्छ ।
तोकिएको समयमै महाधिवेशन गर्ने हो भने स्थानीय तहदेखि अधिवेशन प्रक्रिया सुरु भइसक्नुपर्ने थियो ।
पार्टी सभापति देउवा विशेष अवस्थामा मात्र कार्यकाल थप्न सकिने प्रावधानमा टेकेर १ वर्ष लम्ब्याउन खोज्दै छन् ।
कांग्रेसले शुरू गरेको पहिलो चरणको जागरण अभियान शनिबार सकिँदै छ ।
पार्टीको तल्लो तहसम्मै सुधारको अपेक्षा र सरकारविरुद्ध उत्रने उद्देश्यसाथ २५ वैशाखदेखि एकमहिने जागरण अभियान शुरू गरेको थियो ।
जागरणबारे समीक्षा गरेर दोस्रो चरणको कार्यक्रम ल्याउने कांग्रेस तयारी छ ।
कांग्रेसले तीन चरणको ९ महिने लामो देशव्यापी जागरण अभियान घोषणा यस वर्षको शुरूमै गरेको थियो ।
दोस्रो चरणको अभियान भदौमा शुरू हुँदै छ । पहिलो चरणको कार्यक्रम समापनको सन्दर्भमा हरेक जिल्लामा आमसभा गर्दै छन् ।
कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा विराटनगर जाँदै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पश्चिमकै जिल्लातिर छन् ।
ललितपुरमा शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीको गुमेको साख यो अभियानबाट फिर्ता गराउन आमनेताकार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणको जागरण अभियानले पार्टीको तल्लो तहसम्मको समस्या केन्द्रीय नेताले थाहा पाएको र सिंगो पार्टी चलायमान भएको बताएका छन् ।
पहिलो चरणको जागरण अभियानका लागि केन्द्रबाट गएका प्रतिनिधि काठमाडौं आएर आ–आफ्नो क्षेत्रको सम्पूर्ण विवरण २८ गतेभित्र पार्टीलाई बुझाउनुपर्नेछ ।
त्यसपछि केन्द्रीय समितिको बैठक गरेर कांग्रेसले पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने योजना बनाएको छ ।
प्रवक्ता शर्माले पहिलो चरणमा देखिएको कमीकमजोरी वा स्थानीय नेता–कार्यकर्ताले सुझाएका कुरासहित दोस्रो चरणको अभियान शुरू हुने बताए ।
अभियानमा गएकाहरूलाई स्थानीय नेताले निर्वाचन अभियान शुरू गरेको, पार्टीको संरचना किन बन्न नसकेको र पार्टीको केन्द्रमा बढी समस्या देखिएकोजस्ता गुनासा गरेका छन् ।
समग्रमा पार्टीलाई अधिवेशन चाहिएको भन्दै गुनासा आइरहेका छन् ।















प्रतिक्रिया