
कावासोती, २३ जेठ । महिलालाई यौनदुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै नवलपुरको मध्यविन्दु नगरपालिकामा र्याली निकालिएको छ ।
मध्यबिन्दु नगरपालिकाका ३८ वर्षिय राजु पाण्डेले स्थानीय १८ बर्षीया विवाहित महिलालाई यौनदुर्व्यवहार गरेको आरोप लागेको छ । पाण्डेलाई कारवाहीको माग गर्दै स्थानीयले घटनास्थल र उनको घर आसपास रानीटारमा र्याली निकालेका हुन् ।
पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा आज मुद्दा दर्ता भएको पीडित परिवारले जनाएको छ । मुद्दा दर्तापछि घटनाका विषयमा थप अनुसन्धान अघि बढाइएको र फरार रहेका पाण्डेको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
मध्यबिन्दु नगरपालिका ८ रानिटारमा खेतमा काम गर्न गएको मौका पारी स्थानीय १८ वर्षिय विवाहित युवतीलाई पाण्डेले बलात्कारको प्रयास गरेको पीडित महिलाले बताएकी छिन् ।
मङ्गलबार आफ्नो खेतमा गएका बेला महिलामाथि पाण्डेले जवर्जस्ती करणी गर्न खोज्दा भागेर बाँच्न सफल भएको पीडित परिवारले जानकारी दिएको छ ।
घटनालाई दबाउन खोजिएको भन्दै स्थानीय आक्रोसित भएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा घेराउ गर्ने समेत जनाएका छन् ।
वडाध्यक्ष परशुराम महत्तोको रोहबरमा घटना गाउँमै मिलाउने प्रयास गरेपनि पीडित पक्षले नमानेपछि प्रहरीकोमा जाहेरी परेको हो ।
आरोपित पाण्डे तम्सरिया साना सहरी खानेपानी संस्थाका अध्यक्ष हुन् भने भ्युरान स्मल हेभन स्कुलका संचालक समेत हुन् ।












प्रतिक्रिया