५ कार्तिक २०८३, बिहिबार

‘उदण्ड’ मेयरले भने– प्रचण्डले कानुन हातमा लिएको होइन ?

36.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई धम्की दिएको प्रकरणमा सत्तारुढ पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्डदेखि युवा संघ उपाध्यक्ष पर्शुराम बस्नेतसम्मलाई मुछेका छन् ।

आफू कसैसँग नझुक्ने दाबी गरेका उनले धम्की दिएको स्वीकार्दै राष्ट्रिय टेलिभिजनमार्फत राज्यलाई नै चुनौति समेत दिँदै भने,‘कसले गर्न सक्छ मलाई कारबाही ?’

पत्रकारदेखि कर्मचारीसम्मलाई लोपार्ने र कुट्नेसम्मका हर्कतका कारण विवादमा मुछिदै आएका उदण्ड मेयरले पछिल्लो पटक पत्रकार बिराट अनुपमलाई दिएको धम्की प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मुछेका छन् । उनले भने,‘केपी ओली, द्वारिकलाल चौधरीलाई कारबाही गर्ने हिम्मत छ ?’

यति मात्र होइन, नेकपाको सुनसरी जिल्ला कमिटी सदस्य रामप्रसाद चौलागाईलाई पिटेको सन्दर्भलाई उप्काउँदै टेलिभिजनमार्फत नै चौधरीले भने,‘पत्रकार कुट्ने पर्शुराम बस्नेतलाई कारबाही भएको छ ? यस्ता भ्रष्ट र परिचालित पत्रकारलाई कालो मोसो दल्छु ।’

केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डसँग हात मिलाएको सन्दर्भमा पनि उनले बोलेका थिए । बारम्बार भ्रष्टाचारविरुद्धको नारा लगाएका उनले पार्टीले भने पनि प्रशासनले भने पनि नमान्ने बताए ।

चौधरी यतिमा रोकिएनन्, प्रचण्डको नामै किटेर भने,‘०५२, फागुन १ गते प्रचण्डले कानुन हातमा लिएको होइन ? मैले इटहरीमा क्रान्ति सुरु गरिसकेको छु । दुर्गा पार्टी प्यालेसबाट मैले पनि जनसांस्कृतिक क्रान्ति थालेको छु ।’

संविधानको अपमान

नेपालको संविधानको पनि मेयर चौधरीले अपमान गरेका छन् । संविधानको दायरामा रहेर जनप्रतिनिधिले काम गर्नुपर्ने भन्ने विषयमा चौधरीले भनेका छन्,‘यो संविधान कम्युनिस्टले बनाएको होइन, यसको काम छैन । त्यसैले संविधानअनुसार चल भनेर मलाई नसिकाए हुन्छ ।’

‘मानसिक सन्तुलन गुम्यो’

उक्त प्रकरणमा नाम जोडिएका युवा संघ उपाध्यक्ष बस्नेतले मेयर चौधरीको मानसिक सन्तुलन गुमेको आँकलन गरेका छन् । उनले आफ्नो नाम जोडेर पत्रकारलाई धम्की दिने मेयरलाई पार्टी र पदबाट बर्खास्त गर्न नेकपासँग अपिल समेत गरेका छन् ।

मेयर चौधरीले झण्डै ७ बर्ष अघि पत्रकार ‘खिलानाथ ढकालमाथि बिराटनगरमा भएको आक्रमण’लाई संकेत गर्दै बस्नेतको नाम जोडेका हुन् । तर उक्त आक्रमणमा बस्नेतको प्रत्यक्ष संलग्नता भने थिएन । बस्नेतसँग जोडिएका दुई व्यक्तिलाई भने पक्राउ गरी कारबाही गरिनुका साथै तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल सरकारले ढकालका लागि २ लाख उपचार र सहयोग खर्च दिएको थियो ।

सम्बन्ध र धम्कीको कारण 

पत्रकार बिराट अनुपम (गौतम) र मेयर चौधरीको राजनीतिक वैचारिक समानता रहेको छ । मेयर चौधरी नेकपाका प्रदेश सदस्य हुन् भने, गौतम नेकपाको विचार बोकेको प्रेस संगठनका सदस्य हुन् । दुवैको पृष्ठभूमी पूर्वएमालेको विचारसँग नजिक रहेको छ ।

मेयर चौधरीले पत्रकार अनुपमलाई धम्की दिनुको खास कारणचाहिँ केही महिनाअघि इटहरी उपमहानगरपालिकाले सीएफएल चिम खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाश गर्नु रहेको हो । उक्त विषयलाई मेयर चौधरीले टेलिभिजनसँगको कुराकानीमा पनि बताएका थिए ।

‘भ्रष्टाचारका विषयमा समाचार लेख्नु पत्रकारको दायित्व हो, अस्ति पत्रकार र कर्मचारीमाथि गरिएको आक्रमणको विषयमा सामाजिक सञ्जालमा स्ट्याटस् लेखेका कारण मेयरले धम्की दिए’, पत्रकार अनुपमले भने,‘उनलाई सीएफएल प्रकरणको समाचारले पनि मस्तिष्कमा कतै हानिरहेको रहेछ ।’