
कावासोती, १९ जेठ । झण्डै १ बर्षको कार्यकाल सकाएर नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापा सरुवा भएका छन् । थापाको प्रहरी प्रधान कार्यलय आतंकवाद नियन्त्रण महाशाखा काठमाडौँमा सरुवा भएको हो ।
सरुवा भएर जाने क्रममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी थापाले आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको दाबी गरे । ११ महिना १ दिनको कार्यकालमा जिल्लामा भएका २ वटा जघन्य अपराधका घटनाका १० आरोपितहरुलाई सजाय दिलाउन सफल भएको भन्दै एसपी थापाले कसैको दबाबमा आफूले काम नगरेको जिकिर गरे ।
उनले जिल्ला लागूऔषधको ट्रान्जिट प्वाइन्टका रुपमा रहेकोमा यसमा संलग्न ८७ जनालाई पक्राउ गरि ६२ जनामाथी मुद्दा चलाइएको बताए । त्यस्तै उनले जुवा तास नियन्त्रणमा पनि आफूले प्रभावकारी भूमिका खेलेको दाबी गरे ।
आफ्नो नवलपुरको बसाईँमा जिल्ला शान्त राख्न सहयोग गर्ने राजनीतिक दल, उधोगी, ब्यबसायी, स्थानीय लगायत सबैलाई धन्यवाद समेत दिए । एसपी थापा २०७५ साल असार १८ गते नवलपुर जिल्लाको प्रमुख भएर आएका थिए । नवलपुरको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेल आजै आउँदै छन् ।












प्रतिक्रिया