५ कार्तिक २०८३, बिहिबार

आफू जन्मिएको जिल्लामा बामदेवलाई झट्का, आफ्नै नेता-कार्यकर्ताले गरे उत्पात

16.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सलिम अन्सारी

प्यूठान, १८ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्यूठानको पूर्व एमालेभित्रका कार्यकर्तामा असन्तुष्टि बढेको छ । पार्टी नेतृत्वले जिल्ला कमिटीमा आफूखुसी सदस्य छानेको भन्दै कार्यकर्ताहरूमा असन्तुष्टि बढेको हो । असन्तुष्टि जनाउँदै कतिपय जिल्ला कमिटीमा परेका नेताहरूले शपथ समेत खाएका छैनन् ।

पूर्व माओवादीका कार्यकर्ताहरूसँग छलफल गरेर सदस्य टुंगो लगाएकाले माओवादीभित्र विरोध आएको छैन् । एमाले नेतृत्वले मनोमानी गरेको आरोप छ ।

शुक्रबार बिजुवारमा नेकपा प्यूठानको नेतृत्वले शपथ ग्रहण गरेका छन् । १ सय ३५ जना जिल्ला कमिटी सदस्यहरूमध्ये एक दर्जन बढी शपथमा सहभागी भएनन् । शपथ खुवाउन आएका नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई असन्तुष्ट पक्षले ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

प्रदेश कमिटी अध्यक्ष र सचिवलाई समेत ध्यानाकर्षण पत्र दिइएको पहिले नै दिएका थिए । यसअघि एमालेको जिल्ला कमिटीको जिम्मेवारी सम्हालेका १५ जनाभन्दा बढी जिल्ला नेताहरू नेकपाको जिल्ला कमिटीमा नपरेको गुनासो छ ।

‘निर्वाचित जिल्ला कमिटीलाई समेत अहिले नेकपामा राखिएन’, पूर्वएमालेको जिल्ला कमिटी सदस्य गिरबहादुर सुनारले भने, ‘एकपटक पनि जिल्ला कमिटीमा नबसेकाहरू अहिले सदस्य भएका छन् ।’ उनले जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्मासहितको नेतृत्व र कार्यदलमा परेकाहरूले मनोमानी रुपमा नेकपाभित्र सदस्य चुनेको आरोप लगाए ।

सुनारले नेताका दाजुभाई, दिदीबहिनी, श्रीमती र छिमेकी, ईष्टमित्रहरूलाई छानीछानी जिल्ला कमिटीमा राखेको बताए । नेकपाको जिल्ला कमिटीमा दाखाक्वाडी क्षेत्रबाट मात्रै १५ जना बढी सदस्यहरू परेका छन् । विभिन्न जनवर्गीय संगठन चलाएका, पेशागत संगठनको नेतृत्व सम्हालेकाहरूलाई समेत पाखा लगाएर आसेपासे र जुनिएर कार्यकर्तालाई कमिटीमा राखिएको आरोप छ ।

पूर्व एमाले प्यूठानका संस्थापक नेता वीरबहादुर सिंहका छोरा विजय सिंहलाई जिल्ला कमिटीबाट हटाइको छ । अर्का छोरा अजयसिंह कमिटीमा बस्ने इच्छा राख्दाराख्दै पनि राखिएको छैन् ।

साविकको एमाले जिल्ला कमिटीमा रहेका रामबहादुर सिंह, विजय सिंह, गिरिजा पुलामी, मनोज पुन, ज्ञानबहादुर सुवेदी, दलबहादुर केसी, भगवती विष्ट, गिरबहादुर सुनार, विष्णुबहादुर बस्नेत, शिवशंकर पोखरेल, भगवती राजभण्डारी, ललित बस्नेत, रामलाल श्रेष्ठ, खेतबहादुर रोका, गोपाल घिमिरे लगायतलाई जिल्ला कमिटीबाट हटाइएको छ ।

साविक जिल्ला कमिटीको तोकिएको हिस्सामा संख्या पुगेपछि मात्र नयाँ थप गर्नुपर्ने एकताको निर्देशन भएपनि पुरानालाई हटाएर मापदण्ड निर्देशन विपरीत थपेको असन्तुष्ट पक्षको गुनासो छ ।

शुपथ ग्रहणलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य बामदेव गौतमले नेकपा गठन भएको वर्षदिन वितिसकेपनि संगठन विस्तारले गति लिन नसकेको बताए ।

उनले पार्टीको नेतृत्वप्रति आक्रोश समेत पोखे । ‘एक वर्ष हुँदा समेत कुनै गतिविधि भएनन्’, गौतमले भने, ‘यसरी पार्टी चल्न सक्दैन ।’ २०७० मा प्यूठानबाट चुनाव जितेर काठमाडौंबाट २०७४ सालको चुनावमा पुनः वर्दिया फर्केका गौतमले त्यसपछि पहिलोपटक प्यूठानमा आयोजित कार्यक्रमलाई सम्वोधन गरेका हुन् ।

गौतमले मन्तव्य राख्दै गर्दा उनका स्वकीय सचिव विजयविराज विष्टले पत्रकारलाई भिडियो खिच्न रोक लगाए । गौतमले आफ्नो कुरा जनतासामु पुर्‍याउने पत्रकारलाई भिडियो खिच्न रोक्न नहुने बताए ।