काठमाडौं, १७ जेठ । गुप्तचर विभाग अर्थात राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लगेपछि प्रभावकारी कार्य सम्पादन हुन्छ भन्ने धेरैको अपेक्षा थियो ।
प्रधानमन्त्री केपी ओलीले पनि गुप्तचर विभागलाई आफू मातहत राखेपछि जादुको छडी चलाए जस्तै देशभरिका सबै सूचना आफ्नो टेबुलमा आउँछ भनेर सोँचेका थिए । ओलीको त्यो भ्रम आइतबार सिंहदरबारको छेउमै रहेको बैद्यखानामा भएको बम विस्फोटले भङग गरिदिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा लैजादैमा गुप्तचार विभागले काम राम्रोसँग गर्ने होइन । त्यो विभागलाई आवश्यक पर्ने साधन र स्रोत दिनुपर्छ । विभागले खर्च गर्ने रकम सरकारले कति दिन्छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ ।
गुप्तचर विभागमा बढ्दै गएको चरम राजनीतिक हस्तक्षेपले पनि सहि सूचना संकलनमा अबरोध हुँदै आएको सुरक्षा स्रोतको भनाइ छ । गृहमन्त्रालय अन्तर्गत रहेको गुप्तचर विभागलाई सरकारले छ महिना अगाडि आफू मातहत लगेपछि झन् पंगु बनेको आरोप छ । गुप्तचर विभागले संकलन गर्ने सूचनाहरू गृहमन्त्रालयमा पुग्न ढिलाइ भएका कारणले पनि कार्यसम्पादन गर्न ढिलाइ हुने गरेको उच्च सुरक्षा स्रोतको भनाइ छ ।
गुप्तचर विभागका आइजीपी दिलीप रेग्मीलाई हटाएर गणेश अधिकारीलाई ल्याएसँगै झन् समस्या हुँदै आएको चर्चा हुने गरेको छ । पूर्वएमाले निकटका अधिकारीलाई आइजीपी बनाएपछि गुप्तचर विभागमा चरम राजनीतिले प्रवेश पाएको स्राेतकाे भनाइ छ ।
एआइजी यादब रेग्मी र डिआइजी मधु कार्कीलाई एकतह घटुवा गर्ने मन्त्रिपरिषदको निर्णयसँग गुप्तचर विभागमा कति विवाद थियो भन्ने कुरा प्रष्ट देखिएको छ । रेग्मी र कार्कीलाई प्रधानमन्त्री ओली निकट हौँ भन्ने समूहका गुप्तचरहरूले राजीनामाका लागि दवाव दिँदै आएका थिए । तर, एआइजी रेग्मी र डिआइजी कार्कीले राजीनामा दिन अस्वीकार गरेपछि दुई हप्ता अगाडि बसेको मन्त्रिपरिषदको बैठकले एक तह घटुवा गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट घटुवाको पत्र पाएपछि त्यसको विरोधमा रेग्मी र कार्की सर्वोच्च अदालतमा पुगेका थिए । सर्वोच्च अदालतले सरकारको निर्णयलाई खारेज गरिदिएको थियो । गुप्तचर विभागको यस्तो अवस्था छ ।
गुप्तचर विभागमा हस्तक्षेप गर्न उक्साउनेहरूले नै अहिले प्रधानमन्त्री र सरकारलाई असफल बनाउन लागेकाे आराेप छ । रेग्मी र कार्की त एउटा पात्र मात्रै हुन् । यसरी नै गलत निर्णय र कदमहरू उठाउन प्रधानमन्त्री ओलीलाई सल्लाह दिने हो भने सरकार नै विवाद र असफलताको बाटोमा जाने श्चित छ ।
मुलुकका चारवटा सुरक्षा निकायमध्ये महत्वपूर्ण निकाय छन् । त्यसमध्ये राष्ट्रिय अनुसन्धान विभागलाई सूचना संकलनमा महत्वपूर्ण मानिन्छ । सम्भावित ठूला घटना, राष्ट्रिय अखण्डता लगायतका विषयमा भइरहेका गोप्य क्रियाकलापको निगरानी राख्ने र त्यसबारेको सूचना राज्यलाई दिने काम गुप्तचर विभागको रहेको छ । मुलुकमा भएका कतिपय ठूला घटनाबारे भने राष्ट्रिय अनुसन्धान विभागले समयमै भरपर्दो सूचना संकलन गर्न नसक्दा अप्रिय घटना भएका छन् ।
आइतबार राजधानीसहित देशभरि भएको विस्फोटको घटनाले राष्ट्रिय अनुसन्धान विभागमाथि गम्भीर प्रश्न उब्जिएको छ । गुप्तचर विभागले आफ्नै कार्यालयभन्दा चार सय मिटर नजिकै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सेल्टर बनाउँदा पनि जानकारी र निगरानी गर्न असफल भएकोमा आलोचना भएको छ । गुप्तचर विभागको हेडक्वाटर र आइतबार बम विस्फोट भएको बैद्यखानाको दुरी मुस्किलले चार सय मिटरको दुरीमा पर्छ ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने कुराको कुनै पूर्वसूचना गुप्तचर संयन्त्रले थाहा पाउनै सकेन । सुरक्षासम्बन्धी पछिल्ला बैकठहरूमा गुप्तचर विभागको भूमिका र जिम्मेवारीमाथि प्रश्न उठाउन थालिएको छ ।
एनसेल गेटमा बम राख्नुअघि विप्लव समूहको बैठक नै बसेको स्रोतको भनाइ छ । त्यही बैठकले एनसेलमाथि धावा बोल्ने निर्णय गरेको थियो । गुप्तचर विभागले त्यो सूचना प्राप्त गर्न सकेन । परिणाम नख्खुमा एकजनाको ज्यान जानेगरी विस्फोट भयो ।
गुप्तचर संयन्त्र भने नेपाल प्रहरीबाट सूचना लिएर प्रधानमन्त्री र गृहमन्त्रीलाई ब्रिफिङ नोट बुझाउँदै आएको एक प्रहरी अधिकारीले बताए । राष्ट्रिय अनुसन्धान विभागको प्रमुख गणेश अधिकारी छन् ।
तर, उनको कामबाट प्रधानमन्त्री ओली नै सन्तृष्ट हुन नसकेको स्रोत बताउँछ । उपत्यकामा भएको विस्फोटको घटनाले सुरक्षा निकायहरू सुरक्षाको प्रत्याभूति गराउने मामिलामा संवेदनशील नभएको भन्ने देखाएको विज्ञको आरोप छ ।
उपत्यकाभित्रै घटना हुन्छ । त्यसको जानकारी गुप्तचरलाई हुँदैन भने त्यस्तो निकायको के काम ? सरकार शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा चनाखो हुनुपर्छ । तर, त्यसो भएको देखिँदैन ।
भदौ ०७२ बाट भएको थरुहट आन्दोलनदेखि सुकेधारा, घट्टेकुलो विस्फोटसम्म आइपुग्दा सुरक्षाकर्मी सहित कैयौंको ज्यान गएको छ । ०७२ साल भदौ ७ गते कैलाली र कञ्चनपुरसहित बेग्लै थरुहट र थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीचको झडपमा १ वर्षे नाबालक, नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ९ जनाको ज्यान गएको थियो । टीकापुर घटनामा गुप्तचर विभागले सूचना समयमै दिन सकेको भए विभत्स नरसंहार रोक्न सकिन्थ्यो भन्छन् सुरक्षा अधिकारी ।
टीकापुर काण्डअघि सोही क्षेत्रका केही घरमा भाला, खुकुरी, हँसियालगायत घरेलु हतियार लगेर जाने र प्रहरीमाथि आक्रमण गर्ने योजना पहिल्यै बनेको थियो । गुप्तचरले त्यो सूचना संकलन गर्न सकेन ।
माओवादी जनयुद्धपछि प्रहरीका उच्च अधिकारी टीकापुर काण्डमै मारिएका थिए । त्यसअघि जनयुद्धको क्रममा०५८ असारमा दाङमा एसएसपी परमेश्वर सिंह सिजापती, २०५९ माघमा ललितपुरमा सशत्र प्रहरी प्रमुख कृष्णमोहन श्रेष्ठ र २०६० कात्तिकमा मकवानपुरमा नेपाली सेनाका प्राविधिक सहायक रथी सागरबहादुर पाण्डेको मृत्यु भएको थियो ।
कुनै समय राम्रो छवि बनाएको राष्ट्रिय अनुसन्धान विभाग पछिल्लो समय राजनीतिक दलको भर्तीकेन्द्र हुँदा सूचना संकलनमा कमजोर हुँदै गएको विश्लेषकको निष्कर्ष छ ।
नेपाली सेनाको डीएमआई, नेपाल प्रहरीको सीआईबी, सशत्र प्रहरी बलको आफ्नै छुट्टाछुटै इन्टेलिजेन्स पनि छन् । जासुसीको लागि नै भनेर बनेको सुरक्षा अंग भनेको राष्ट्रिय अनुसन्धान विभाग नै हो ।
गुप्तचरको काम नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित विपरीत कुनै काम हुन लागेमा, राष्ट्रिय सुरक्षामा आन्तरिक होस् या बाह्य सुरक्षा चुनौतीको गोप्य रिपोर्ट राज्यलाई दिनु हो । जानकारहरू गुप्तचर मात्रै भनेर नहुने बताउँछन् । साधनस्रोत दिनुपर्छ । लगानी गर्नुपर्छ । पदमात्रै दिने । भित्रभित्रै खोक्रो बनाएपछि के अर्थ हुन्छ ?
अनुसन्धान विभागको काम कारबाहीलाई प्रभावकारी बनाउन र शान्ति–सुरक्षालाई चुस्त बनाउन राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको निर्णयले सार्थक नपाएको टिप्पणी हुन थालेको छ । आइतबार बम विस्फोटलगत्तै सूचना संकलन र अनुसन्धानका लागि पुगेका अधिकारीको कृत्यले पनि त्यसको पुष्टि गरेको छ ।
बैद्यखानामा भएको बम विस्फोटको अझ रोचक दृष्य त के छ भने अनुसन्धान र सूचना संकलनका लागि घटनास्थल वरपर भेला भएका राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरू कोही फेसबुकमा, कोही च्याटमा व्यस्त थिए । घटनाप्रति उनीहरूको संवेदनशीलता उदेकलाग्दो थियो ।
स्थानीयका अनुसार त्यो कोठामा सगरमाथा मल्टिपल कलेजमा पढ्ने एकजना छात्र बस्थे । कोठामा अपरिचत व्यक्तिहरू बरोबर आउजाउ गरिरहन्थे । र, त्यो कुरा वरपरका किराना पसलेलाई पनि थाहा थियो ।
सिंहदरबारको उत्तरतर्फ मूलबाटोबाट केही भित्रमात्रै बमको कारखाना नै चलाउँदा प्रहरीले सुइँको पनि पाउन सकेनन् । राष्ट्रिय अनुसन्धानले झन् बारुदको गन्ध आएपछि मात्रै चाल पायो ।
आइतबारको विस्फोट संगम गल्लीमा रहेको लोकमञ्जरी कार्कीको घरमा विस्फोट भएको थियो । विस्फोटबाट कार्कीको घरको भुइँतला चर्किनुका साथै बम पड्किएको कोठा क्षतिग्रस्त बनेको छ ।
बम विस्फोटबाट शाहीको घटनास्थलमै ज्यान गएकाले वरपर कोठा भाडामा लिएर बस्नेहरू आतङ्कित छन् । बालबालिका भयग्रस्त छन् । वल्लोपल्लो घरमा बस्नेहरू पनि डेरा सर्ने मनस्थितिमा छन् ।















प्रतिक्रिया