
काठमाडौं, १४ जेठ । पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा जनप्रतिनिधि (पर्वत, जलजला गाउँपालिका–८ का वडा अध्यक्ष) हरिविकास जिसीले कब्जा गरेको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दमाईले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘मेरो बुवा–आमा कान नसुन्ने, लाटालाटी हुनुहुन्छ, उहाँहरुलाई झुक्याएर जिसीले सम्पत्ति कब्जा गरेको छ । तर, त्यो जग्गाको जग्गाधनी पुर्जा अहिले पनि मेरो आमाको नाममा छ ।’ जिसीले ९ आना २ पैसा २ दामको जग्गा कब्जा गरेको दमाईले सुनाए ।
दमाईले कब्जा गरेको आफूहरुको जग्गा पटक–पटक फिर्ताको लागि आग्रह गर्दा उल्टै जिसीले शक्तिको दुरुपयोग गरेर धम्क्याउने गरेको पनि आरोप लगाए । उनले थपे, ‘मैले हाम्रो जग्गा फिर्ता गर भनेर बारम्बार आग्रह गर्दापनि उनले यो जग्गा मैले तेरो बुवासँग पैसा दिएर किनेको भन्दै धम्क्याउने गरेको छ । तर, मेरो बुवासँग पैसाको कारोबारे गरेको मलाई थाहा छैन ।’
दमाईको बुवा चन्द्रे दमाईको २०५५ सालमै निधन भैसकेको छ भने आमाको अवस्थापनि निकै नाजुक छ । उनी हाल थला परेर ओछ्यान परेकी छिन् । दमाई स्वयम पनि शारीरिक अपाङ छन् । जिसीले २०४४ सालदेखि नै उक्त जग्गा कब्जा गरेको उनको आरोप छ । २०७२ साल जेठ १ गते जिल्ला प्रशासन कार्यालय पर्वतमा उक्त जग्गा विवादबारे दुवै पक्षबीच छलफल भएको र उक्त छलफलमा आफ्नो बुवासँग जग्गा किनेको प्रमाण जिसीले पेश गर्न नसकेको सुनाए ।
उनले भने, ‘जिल्ला प्रशासन कार्यालयको छलफलमा जिसीले जग्गा किनेको कुनै प्रमाण पेश गर्न सकेनन्, बरु मेरो बुवाले चिया, चिनीलगायतका सामान लिएको भनेर कपाली नामका ९ हजारको तमसुकको प्रतिलिपी चाहिँ देखाए, मैले यदि साँच्चिकै मेरो बुवाले चिया, चिनीको लागि पैसा लिएको हो भने म नेपाल सरकारको प्रचलित व्याजअनुसार साँवा र ब्याज नै चुक्ता गर्न तयार छु भनेको थिएँ । तर, उसले मानेनन् । उसको नियत भनेको नै हाम्रो जग्गा कब्जा गर्ने देखियो ।’
सरकारले यसबारेमा सत्य, तथ्य छानबिन गरी दोषी जिसीमाथि कारबाही गर्दै आफूहरुलाई न्याय दिनुपर्ने दमाईको माग छ ।












प्रतिक्रिया